देउवासँग पराजित भएपछि गगनले भने- म सरकारमा जान्न, फेरि संसदीय दलको नेता बन्न कोसिस गर्छु

देउवासँग पराजित भएपछि गगनले भने- म सरकारमा जान्न, फेरि संसदीय दलको नेता बन्न कोसिस गर्छु

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवासँग पराजित भएपछि आफू सरकारमा नजाने बताएका छन्। थापालाई ३९ मतान्तरले पराजित गर्दै देउवा दलको नेतामा निर्वाचित भएका हुन्।

देउवासँग पराजित भएपछि पत्रकारहरुसँग कुरा गर्दै थापाले फेरि पनि संसदीय दलकै नेता बन्ने तयारीमा केन्द्रित हुने उल्लेख गरेका छन्।

उनले भने, ‘कांग्रेसको सरकार बन्यो भने अरु साथीहरु सरकारमा जानु हुन्छ। म फेरि संसदीय दलको नेता हुन कोसिस गर्छु। कांग्रेसको संसदीय दलको नेता परिवर्तन हुनैपर्छ भन्ने मेरो सोच हो।’

निर्वाचनमा देउवाले ६४ मत पाउँदा गगनले २५ मत मात्रै पाएका थिए। निर्वाचनमा सबै ८९ जना सांसद्ले मतदान गरेका थिए।

गगन थापालाई नेता शेखर कोइराला, उपाध्यक्ष धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा, प्रदीप पौडेल लगायतले समर्थन गरेका थिए।
 

पुष ६, २०७९ बुधबार १४:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।