कांग्रेस संसदीय दलको चुनाव आज, देउवा र थापा प्रतिस्पर्धामा
काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको नेताका लागि आज निर्वाचन हुँदैछ।
विहान ८ बजेदेखि १० बजेसम्म संसदीय दलको नेताका लागि मतदान हुने निर्वाचन समितिका संयोजक भीष्मराज आङदम्बेले जनाएका छन्।
८९ सांसद रहेको कांग्रेसमा बहुमतका लागि ४५ सांसद चाहिन्छ। संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाको उम्मेदवारी परेको छ।
मंगलबार दिउँसो सिंहदरबारस्थित दलको कार्यालयमा संसदीय दलको नेताका लागि सभापति देउवा र महामन्त्री थापाले मनोनयन दर्ता गराएका थिए।
कांग्रेस संस्थापनइतर समूहले महामन्त्री थापालाई दलको नेताको साझा उम्मेदवार बनाएसँगै संसदीय दलको नेतामा सभापति देउवा र थापाबीच प्रतिस्पर्धा हुने भएको हो।
सभापति देउवाको प्रस्तावकमा नेता रामचन्द्र पौडेल र समर्थकमा उपसभापति पूर्णबहादुर खड्का रहेका छन्।
महामन्त्री थापाको प्रस्तावकमा डा. शेखर कोइराला रहेका छन् भने समर्थकको रूपमा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र प्रदीप पौडेल छन्।
शेरबहादुर देउवा समूहबाट प्रत्यक्षतर्फ २७ र समानुपातिकतर्फबाट २२ गरि अहिलेसम्म ४९ सांसद देखिएका छन्। थापाको पक्षमा अहिलेसम्म ३२ सांसद खुलेका छन्।
शशांक कोइरालाले देउवालाई समर्थन गर्दा उनी निकट मानिएका दीपक गिरी थापाको पक्षमा छन्। अहिलेसम्मको अवस्था हेर्दा देउवा बहुमतमा देखिएका छन्। तर, १३ जना सांसद आफ्नो पक्षमा पार्न सके थापाको जित हुने निश्चित छ।
संसदको ठूलो दल भएकाले पनि कांग्रेस संसदीय दलको नेता जो हुन्छ, उही भावी प्रधानमन्त्रीको बलियो दाबेदार हुनेछ।
पुष ६, २०७९ बुधबार ०७:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।