मिर्गौला प्रत्यारोपणको असफलताको समाचारका कारण प्रत्यारोपणका बिरामी घटेको युनिफाइड अस्पतालको दाबी

मिर्गौला प्रत्यारोपणको असफलताको समाचारका कारण प्रत्यारोपणका बिरामी घटेको युनिफाइड अस्पतालको दाबी

काठमाडौँ : कोभिड–१९ युनिफाईड केन्द्रीय अस्पताल (वीर अस्पताल) मिर्गौला प्रत्यारोपणमा भएको लापरबाहीबारे प्रकाशित समाचारले मिर्गौला प्रत्यारोपणका लागि अस्पताल पुग्ने बिरामीको सङ्ख्या घटेको नेतृत्वले दाबी गरेको छ।

कोभिड–१९ युनिफाईड केन्द्रीय अस्पतालका निमित्त प्रमुख प्रशासकीय डा. भूपेन्द्रकुमार बस्नेत लगायतका चिकित्सकहरूले पत्रकार सम्मेलन गरेर मिर्गौला प्रत्यारोपण सम्बन्धी समाचारमा आएका विषयका कारण प्रत्यारोपणसमेत रोकिने अवस्था आएको दाबी गरे।

डा. बस्नेतले भने,‘हाम्रो ट्रान्सप्लान्ट रोकिने अवस्था भयो। नरोकियोस् भन्नका लागि इन्ट्रयाक्शन गरेको हो।’

नेफ्रोलोजी विभागका प्रमुख डा. अनिल बरालले उकेराले सनसनी फैलाउने काम गरेको दाबी गरेका थिए।

मिर्गौला प्रत्यारोपणमा भएको असफलताको विषय समाचारमा आएपछि चिकित्सकहरूप्रति बिरामीको शङ्का बढेको डा. बरालले दाबी गरे।

‘अघिल्लो पटकको त्यो मिसह्याभ भयो। त्यसपछि बिरामीहरूको हामीप्रति शङ्का त बढी नै हाल्ने हुन्छ,’उनले भने,‘हामीसँग रेगुलर छ महिनालाई पुग्ने ट्रान्सप्लान्टको बिरामीहरू थियो। अहिले स्वाट्टै ओपिडीमा ट्रान्सप्लान्टको लागि आउने बिरामी नै छैन। ती बिरामी कहाँ गए? कोही भारत पुगेकी, कोही प्राइभेटमा छन् की। कोही कहाँ छन् थाहा छैन।’

मिर्गौला प्रत्यारोपणको दुई वटा केसको विषयमा उकेराले समाचार सम्प्रेषण गरेको थियो। जसमध्ये एउटा प्रत्यारोपण असफल भएको थियो। दोस्रो प्रत्यारोपणको सवालमा सुरुमा समस्या देखिए पनि प्रत्यारोपण सफल भएर बिरामी डिस्चार्ज भएको अस्पतालका प्रमुख डा. बस्नेतले जानकारी दिए। 

‘त्यो (प्रत्यारोपण गरिएका दोस्रो) बिरामी कम्प्लिट ठिक भएर गए,’डा. बस्नेतले भने।

दोस्रो केसको सवालमा केही दिनसम्म प्रत्यारोपण गरिएका बिरामीको पिसाब नबनेपछि समस्या निम्तिएको थियो।

उकेराले प्रकाशित गरेको मिर्गौला प्रत्यारोपणको पहिलो केसमा दाताबाट निकालिएको मिर्गौला प्रत्यारोपणका लागि अयोग्य देखिएपछि प्रत्यारोपण नै असफल भएको थियो।

प्रत्यारोपणको संलग्न युरो सर्जन डा. अनिल श्रेष्ठ र डा. पारसमणि श्रेष्ठ थिए। मिर्गौला दिने र लिने तयार गरिएका दुवै धादिङ गल्छी गाउँपालिका ५८ र ३२ वर्षका महिला थिए।

नातामा मिर्गौला दाता सासू हुन् भने मिर्गौला लिने तयारी गरिएकी महिला बुहारी हुन्।

त्यही टिमले गरेको दोस्रो मिर्गौला प्रत्यारोपणपछि केही दिन मिर्गौला प्रत्यारोपण गरिएको बिरामीको पिसाब नआएपछि समस्या निम्तिएको थियो।

डा. पारसले आफूले सफल मिर्गौला प्रत्यारोपण गरेको विषय नलेखेको र असफल भएको विषय मात्रै लेखेको तर्क गरेका थिए।

मिर्गौला प्रत्यारोपणमा संलग्न चिकित्सकहरू मिर्गौला प्रत्यारोपणको असफलताको विषयमा समाचार सम्प्रेषणको विषय बाहिर आएको भन्दै अन्तरक्रियाको अधिकांश समय उकेराले मिर्गौला प्रत्यारोपण गरेको विषयसम्बन्धी सम्प्रेषण गरेको समाचारको विषयको खण्डनमा नै केन्द्रित भएका थिए।

पुष ५, २०७९ मंगलबार २३:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।