‘बिजनेस भिसा’को आवरणमा मानव तस्करी, ‘टारगेट’ १९ देखि २२ वर्षका मंगोलियन युवायुवती
काठमाडौं : ‘बिजनेस भिसा’मा नेपाल आएका चिनियाँ नागरिक मानव तस्करीमा संलग्न रहेको पाइएको छ।
मानव बेचविखन तथा अनुसन्धान ब्यूरोकाअनुसार चिनियाँ नागरिक आइटी इन्जिनियर छोवाङ्ग रन र उनका सहयोगी छेन यानलाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरूविरुद्ध सात नेपाली पुरुष र ती नेपाली महिला बेचेको आरोप छ। ब्यूरोका प्रवक्ता दानबहादुर मल्लका अनुसार १० जनाले ब्यूरोमा जाहेरी दिएका छन्।
‘लाहोसमा १ हजारदेखि १५ सय डलरसम्म मासिक आम्दानीको लोभमा पारेर युवायुवती लगेको पाइयो,’ मल्लले भने, ‘पीडितले जाहेरी दिएपछि हामीले पक्राउ गर्याैं।’
२६ दिनसम्म हिरासत बसेका चिनियाँ नागरिकलाई मंगलबार काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ।
नेपाली महिलासँग विवाह, मंगोलियन फेसका युवायुवती तस्करी
प्रारम्भिक बयानअनुसार मुख्य तस्कर छोवाङ्ग रन हुन्। पाँच वर्षदेखि नेपाल बसेका उनी बिजनेस भिसामा नेपाल आएका थिए। नेपाली युवतीसँग विवाह गरेका रन दिनभर ठमेल र साँझविहान चक्रपथ बाहिर बस्ने गर्थे।
रनले ठमेलको होटलमा बस्दै नेपाली एजेन्ट प्रयोग गरेर अंग्रेजी र चिनियाँ भाषा बोल्न जान्ने १९ देखि २२ वर्षसम्मका युवायुवतीलाई लाहोसमा काम लगाइदिने भन्दै प्रलोभनमा पार्ने गरेको प्रहरी अनुसन्धानले जनाएको छ।
उनीहरूले प्रत्येक व्यक्तिसँग ३ लाख ९० हजारका दरले रकम उठाएको जाहेरीमा उल्लेख छ। ब्यूरोका प्रवक्ता मल्लका अनुसार प्लस टु पास गरेका युवायुवतीलाई उनीहरूले प्राथामिकतामा राखेर लाहोस पठाइरहेका थिए।
‘यहाँ कलसेन्टरमा प्रहरीले छापा हान्न थालेपछि उनीहरूको कल सेन्टरको बिजनेस चौपट भयो,’ मल्लले भने, ‘लाहोस सरेका उनीहरूको अफिसमा काम गर्न मंगोलियन फेस गरेकालाई तस्करी गरेको पाइयो।’
उनीहरूले काठमाडौंबाट सिलुगढि, कलकत्ता, मुम्बइ हुँदै दिल्ली र दिल्लीबाट भिसा लगाएर बैंकक पुर्याउने र त्यहाँबाट बसमा लाहोस लैजाने गरेको पाइएको छ।
बन्धक बनाएर दुई महिना
कार्तिक ३० गते मानव बेचविखन अनुसन्धान ब्यूरोको सम्पर्कमा आएका युवतीहरूले दिएको जाहेरीअनुसार उनीहरू सिन्धुपाल्चोक चिनियाँ बोर्डरका हुन्। भर्खरै प्लस टु सकेका उनीहरूलाई चिनियाँ र अंग्रेजी दुवै भाषा बोलीचाली गर्न आउँथ्यो।
एक जना नेपालीमार्फत उनीहरूले चिनियाँ नागरिक छेन यानको सम्पर्कमा पुगे। छेनले आइटी इन्जिनियरसमेत रहेका छोवाङ्ग रनलाई भेटाए। रनले युवतीहरूलाई सफ्टवेयर बनाउने काम गर्न भन्दै वर्किङ भिसामा लाहोस पुर्याउने र त्यसका लागि चाहिने रकम बुझाउन भने।
उनीहरूले ३ लाख ९० हजारका दरले बुझाए पनि। चिनियाँले भनेको रुट हुँदै तीनै जना युवती लाहोस पुगे पनि। जसै लाहोस पुगे, उनीहरूलाई एउटा घरको ४ तलामाथि बन्धक बनाइयो। उनीहरूको पासपोर्ट जफत गरियो।
सफ्टवेयरको काम गर्ने भनेर लगे पनि उनीहरूको काम कलसेन्टरको थियो। फेसबुक, ह्वाट्सएप, इन्टाग्राम, टेलिग्रामजस्ता एप्समार्फत अमेरिकी नागरिकसँग च्याट गर्न लगाएर बिट क्वाइनमा लगानी गर्न फकाउने काम गर्नुपर्थ्यो उनीहरूले। आफूहरूले यस्तो काम गर्न अस्वीकार गरेपछि धम्क्याउने र त्रास देखाउने काम भएको उनीहरूले दिएको जाहेरीमा उल्लेख छ।
जाहेरीमा भनिएको छ, ‘हामीले त्यो काम नगर्ने बताएपछि चिनियाँले हामीलाई डरत्रास दिएर धम्क्याए। उनीहरूले हामीले लाहोस पुर्याएको खर्च नउठाइ पासपोर्ट फिर्ता नदिने भन्दै मानसिक टर्चर दिए।’
युवतीहरू लाहोस बस्दा काम सकेपछि पनि बाहिर निस्कन दिइएन। एकै कोठामा राखियो। कामै नगर्ने रटान लगाएपछि उनीहरूलाई बाध्य भएर नेपाल फर्काएको युवतीहरूले दिएको जाहेरीमा उल्लेख छ। युवतीहरू फर्फिएसँगै पछि गएका ७ जना युवाहरू पनि फर्किएका छन्। उनीहरूले पनि ब्यूरोमा जाहेरी दिएका छन्।
कार्तिक २५ गते नेपाल फर्केका उनीहरूले ३० गते ब्यूरोमा जाहेरी दिएका हुन्।
एर्पाेटबाट पक्राउ
जाहेरीपछि दुवै चिनियाँ नागरिकको खोजी सुरु गरेको ब्यूरोले ठमेलको एक होटलबाट अन्य युवाहरूसँग कुराकानी गरिरहेको अवस्थामा चीनको सिचुवान प्रान्तका छेन यानलाई मंसिर ७ गते नै पक्राउ गर्यो।
यान पक्राउ परेपछि मुख्य योजनाकार छोवाङ्ग रन फरार भए। मंसिर ९ गते विहान बंगालादेश जाँदैछन् भन्ने सुइँको पाएपछि प्रहरीले अध्यायगमनको सहयोगमा एर्पाेटबाट रनलाई पक्रियो।
‘रन बंगलादेश हुँदै भाग्न खोजेका रहेछन्,’ ब्यूरोका प्रवक्ता मल्लले भने, ‘हामीले उनलाई पक्राउ गरेर अनुसन्धान गर्यौं।’
पुष ५, २०७९ मंगलबार १९:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।