‘लौरो खोसेर स्थानीयले तेस्रोलिङ्गीलाई कुट्दासमेत रमिता हेरेर बस्यो प्रहरी’
बुटवल : बुटवलस्थित सडक, चोक तथा सार्वजनिक स्थानमा जम्मा भएर पैदलयात्रीलाई यौनजन्य इसाराका संकेतहरूबाट जिस्काएको आरोपमा प्रहरीले ७ जना महिलालाई पक्राउ गरेपछि तेस्रोलिङ्गी सम्बद्ध संघसंस्थाहरू विरोधमा उत्रिएका छन्।
बुटवलमा पत्रकार सम्मेलन गरेर उनीहरूले तेस्रो लिङ्गीहरू स्थानीयबाट कुटिए पनि प्रहरीले आफूहरूलाई नै पक्राउ गरेको भन्दै विरोध प्रदर्शनमा उत्रिएका हुन्।
सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा प्रहरीकै अगाडि प्रहरीको लौरो खोसेर स्थानीय केही महिलाले तेस्रोलिंगीमाथी निर्घात कुटपिट हुँदासमेत प्रहरी मुकदर्शक भएर बसेको उनीहरूले बताए।
पत्रकार सम्मेलनमा बोल्दै वृक्ष अभियानका रेसम न्यौपानेले स्थानीयको गुनासाका आधारमा प्रहरीले तेस्रोलिङ्गीहरूलाई पक्राउ गरे पनि घटनाको यथार्थता नबुझेको बताए।
ईलाका प्रहरी कार्यालय बुटवलमा घटनाबारे जानकारी लिन खोज्दा आफूहरूलाई बेवास्ता गरेको भन्दै उनले पीडित र पीडकका कुरा प्रहरीले सुन्नुपर्ने बताए। कुटपिट गर्नेहरूविरुद्ध मुद्दा दायर गर्न खोज्दा प्रहरीले निवदेन नै लिन इन्कार गरेकोसमेत उनकाे भनाइ छ।
‘निवेदन दर्ताका लागि प्रहरी कहाँ पुग्दा विभिन्न बहाना बनायो,’ उनले भने, ‘घटनाबारे जानकारी लिन र दिन पूर्ण रूपमा अस्वीकार गर्यो प्रहरीले।’
प्रहरीले होटल व्यवसायीसहित विभिन्न टोल विकास संस्था, स्थानीयको जनगुनासोको आधारमा तेस्रो लिंगीहरूलाई पक्राउ गरेको बताए पनि होटल व्यवसायीहरूसमेत यस विषयमा संवादका लागि तयार नभएको न्यौपानेको भनाइ छ।
होटल व्यवसायीहरूले कुनै पनि बहानामा आफ्ना साथीहरूलाई अन्यायमा पारेको अवस्थामा व्यवसायीहरूले गर्ने भनेको ‘सडक खाना महोत्सव’लाई असफल बनाउन देशभरका तेस्रो लिंगी बुटवलमा बोलाउनेसमेत बताइन्।
पत्रकार सम्मेलनमा अवन्तिका घर्ती, अनु अनमोल लगायतले बोल्दै समाजले फरक दृष्टिकोणले हेर्ने समुदायलाई प्रहरीलेसमेत अन्याय गर्दै आएको बताए।
बुटवल उपमहानगरपालिका क्षेत्रका विभिन्र सार्वजनिक स्थानहरूमा महिलाको समूहले पैदलयात्रीलाई यौनजन्य इसारा गरेर हैरान बनाउने गरेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले गत आइतबार उनीहरूलाई पक्राउ गरेको थियो। पक्राउ पर्नेहरू १८ देखि ५० वर्ष उमेरका छन्।
पक्राउ परेका ७ जनाविरुद्ध मुलुकी अपराध संहिताको दफा ११८ (१)अनुसार अभद्र व्यवहार कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पुष ५, २०७९ मंगलबार १७:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।