सेवा प्रदायकले नटेरेपछि विद्युत् प्राधिकरणले अव्यवस्थित तार आफै हटाउने
काठमाडाैं। नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न स्थानका रहेकाे अव्यवस्थित तार हटाउने भएको छ। प्राधिकरणले आज (मंगलबार) एक सार्वजनिक सूचना प्रकाशित गर्दै त्रिपुरेश्वरदेखि बुढानीलकण्ठ चोकसम्मको अव्यवस्थित तार हटाउने भएको हाे।
प्राधिकरणले विद्युतीय पोल प्रयोग गरी अव्यवस्थित तरिकाले तानिएका र प्रयोगमा नरहेका अनावश्यक अप्टिकल फाइबर तथा पोलमा जथाभावी झुण्ड्याइएका उपकरण हटाउने छ।
उक्त कार्यबाट टेलिफोन, इन्टरनेट, केबल टिभी उपभोक्तालाई पर्नसक्ने असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ।प्राधिकरणले त्यसबाट हुनसक्ने नोक्सानीका लागि आफू जिम्मेवार नहुने समेत स्पष्ट पारेको छ।
प्राधिकरणले त्यस प्रकारका तार गत मंसिर १८ गते नै हटाउने जानकारी गराएको थियो। प्राधिकरणको आग्रह बमोजिम सेवा प्रदायक संस्थाले सूचना बमोजिमको व्यवस्थापन कार्य नभएको पाइएकाले अब यही पुस ११ देखि आफै हटाउने भएको हो।
प्राधिकरणले त्रिपुरेश्वर सुन्धारा, रत्नपार्क, केशरमहल, लैनचौर, लाजिम्पाट, नारायणगोपाल चोकदेखि बुढानीलकण्ठसम्मको अव्यवस्थित तार आफै हटाउने भएको हो।
पुष ५, २०७९ मंगलबार १६:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।