मानव बेचबिखनः एक वर्षमा भारतबाट २२ जनाको उद्धार, धेरैजसो आफन्तबाटै बेचिएका
काठमाडाैं। माइती नेपाल कञ्चनपुरले एक वर्षमा बेचबिखनमा परेका २२ जना नेपालीलाई भारतबाट उद्धार गरेको छ। माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टका अनुसार भारतको विभिन्न ठाउँबाट उनीहरूकाे उद्धार गरिएकाे हाे।
भारतको दिल्लीबाट ६ जना, पुणेबाट चार जना, सिमलाबाट दुई जना, हल्दानीबाट दुई जना, मुम्बईबाट दुई जना, हरियाणाबाट एक जना, चण्डीगढबाट दुई जना, बैङ्गलोरबाट दुई जना र अयोध्याबाट एक जनाको उद्धार गरिएको भट्टले बताइन्।
एक वर्षमा दुई सय ५ जनाको खोजतलासका लागि माइती नेपालमा निवेदन परेको थियो। जसमध्ये ३५ जनाको खोजी गरी माइती नेपालले परिवारको जिम्मा लगाएको छ।
गड्डाचौकी नाकाबाट ८८ जना र झोलुङ्गे पुलबाट ६८ जनाको उद्धार गरिएको छ। जसमा ७५ जना १८ वर्ष मुनिका बालबालिका छन्। सीमा नाकाबाट परामर्श गरी ४९ जनालाई घर फर्काइएको छ।
उद्धार गरिएकामध्ये दुई वटामात्रै मानव बेचबिखनमा मुद्दा दर्ता भएको माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले बताइन्।
“उद्धार गरिएका घटना हेर्दा धेरैजसो आफन्तबाटै बेचिएको पाइएको छ”, उनले भनिन्, “सामाजिक सञ्जालको प्रयोग र बेरोजगारीका कारण धेरै महिला तथा बालबालिका भारतका सहरमा बेचिन पुगेका छन्।”
मानव बेचबिखनमा संलग्न व्यक्तिमाथि कारवाही हुन नसक्दा बेचबिखनका घटना बढ्दै गएको उनले बताइन्। “अधिकांश उद्धार गरिएका आफन्तबाटै बेचिएका हुनाले मुद्दा दर्ता गर्न मान्दैनन”, उनले भनिन्, “केही घटनामा दलाल नचिनिने र भारतबाट नेपाल नर्फने भएकाले पनि मुद्दा दर्ता हुन सक्दैन।”
पछिल्लो समय दलालले वैकल्पिक मार्ग अपनाउन थालेकाले पनि मानव बेचबिखनका घटना बढ्दै गएको उनकाे भनाइ छ। यसवर्ष माइती नेपालले मानव बेचबिखनविरुद्ध दुई वटा मुद्दा दर्ता गरेको छ भने गत वर्ष एउटा मात्रै मुद्दा दर्ता गरेको थियो।
पुष ५, २०७९ मंगलबार १५:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।