विश्वकप जिते पनि अर्जेन्टिना फिफा वरियतामा दाेस्राे स्थानमा, विश्व नम्बर १ काे?

विश्वकप जिते पनि अर्जेन्टिना फिफा वरियतामा दाेस्राे स्थानमा, विश्व नम्बर १ काे?

एजेन्सी। अर्जेन्टिनाले विश्वकपकाे उपाधि जितेपनि फिफाकाे विश्व वरियतामा भने नम्बर १ स्थानमा उक्लन सकेन। कतार विश्वकपमा क्वाटरफाइनलबाट नै बाहिरिएकाे ब्राजिल भने वरियताको शीर्षस्थानमा कायमै रहने भएकाे छ।

इएसपीएनका अनुसार दुई दिनपछि सार्वजनिक हुने नोभेम्बर महिनाको विश्व वरियतामा पाँच पटकको विश्व च्याम्पियन ब्राजिल नै पहिलाे स्थानमा रहने छ। गत फेब्रुअरीदेखि नै ब्राजिल वरियताकाे शिर्षस्थानमा छ।

क्वार्टरफाइनलमा क्रोएसियासँग पेनान्टी सुटआउटमा पराजित भएको ब्राजिलले समूह चरणको अन्तिम खेलमा क्यामरूनसँगकाे खेल पनि हारेकाे थियाे।

आइतबार भएकाे फाइनलमा फ्रान्सलाई पराजित गर्दै अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप जितेकाे थियाे। विश्वकपकाे पहिलाे खेलमा साउदी अरेबियासँग अप्रत्याशित हार भाेगकाे अर्जेन्टिनाले यसपछि सबै खेल जित्दै विश्वकपकाे उपाधि उचालेकाे थियाे।

विश्व विजेता बने पनि अर्जेन्टनाले नम्बर १ स्थान भने प्राप्त गर्न सकेन। अर्जेन्टिनाले फाइनलसँगै नेदरल्यान्डससँगकाे क्वाटरफाइनल खेल पनि पेनाल्टी सुटआउटमा जितेकाले नम्बर १ स्थानमा उक्लन अंक नपुगेकाे हाे।

फिफा वरियताका लागि सबै टिमले सामान्य समयमा खेल जितेकाे भन्दा पेनाल्टी सुटआउटमा जितेकाे खेलमा कम अंक प्राप्त गर्ने गर्छन्।

 

पुष ५, २०७९ मंगलबार १४:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।