८० किलो गाँजासहित पक्राउ परेका गाउँपालिका अध्यक्षविरुद्धको कसूर ठहर
काठमाडौं: बागलुङको निसीखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीमाथि लागेको लागूऔषध गाँजा/चरेस सम्बन्धी कसूर ठहर भएको छ। निसीखोला गाउँपालिका–६ का तत्कालीन वडाध्यक्ष हुँदा विसं २०७७ असार १२ गते ८० केजी गाँजासहित आफ्नै घरबाट पक्राउ परेका घर्तीमाथि लागेको कसूर ठहर भएको हो।
जिल्ला अदालत बागलुङका न्यायाधीश दिवाकर भट्टको इजलासले घर्तीमाथि लागेको कसूर ठहर गर्दै सजाय निर्धारणका लागि पेश गर्न आदेश दिएको जिल्ला अदालत बागलुङका श्रेस्तेदार सूर्यप्रसाद भण्डारीले बताए। जिल्ला प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीको नेतृत्त्वमा खटिएको टोलीले घर्तीलाई पक्राउ गरेको थियो।
बुर्तिवाङ बजारमा गाँजा खाने युवालाई समात्ने क्रममा ‘सप्लाई’ गर्ने व्यक्तिको खोजी गर्ने गर्दै जाँदा प्रहरी घर्तीसम्म पुगेको थियो। उनको घरबाट बरामद भएको गाँजा धुलो पारिएको अवस्थामा भेटिएको थियो।
जिल्ला प्रहरी कार्यालय बागलुङले अनुसन्धान गरी विसं २०७७ भदौ ४ गते जिल्ला अदालत बागलुङमा लागूऔषध गाँजा/चरेस–नियन्त्रण ऐन, २०३३ सम्बन्धी मुद्दा दर्ता भएको थियो।
कसूर ठहर भएका अध्यक्ष घर्ती नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए।
पुष ५, २०७९ मंगलबार १०:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।