सर्लाहीमा एक युवाले आफ्नै घरमा आगो लगाए, १५ लाख बढीको क्षति
काठमाडौं: सर्लाहीको हरिपुर नगरपालिकामा मानसिक सन्तुलन ठीक नभएका एक युवकले आफ्नै घरमा आगो लगाएका छन्। आगलागीबाट १५ लाखभन्दा बढीको क्षति भएको छ।
हरिपुर –२ सानो जगतपुरका कुम्भमाया बराल न्यौपानेका छोरा दीपक न्यौपानेले सोमबार राति आफ्नै घरमा आगो लगाएका थिए।
इँटा र काठले बनेको दुईतले घर पूर्णरूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक विजय कुँवरले जानकारी दिए। आगलागीबाट घरसहित घरभित्र रहेको अन्न, कपडा, भाँडा र नगदसहित सम्पूर्ण सरसामग्री जलेर नष्ट हुँदा रु १५ लाखभन्दा बढीको क्षति भएको उनले बताए।
आगलागीका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कुँवरले बताए। स्थानीय, प्रहरी र हरिवन नगरपालिकाबाट गएको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।
पुष ५, २०७९ मंगलबार १०:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।