फ्रान्स र अर्जेन्टिनाको जर्सीमा सजिएर विवाह गरेका यी अजिब जाेडी

फ्रान्स र अर्जेन्टिनाको जर्सीमा सजिएर विवाह गरेका यी अजिब जाेडी

एजेन्सी : हुन त भारत क्रिकेटको क्रेजका लागि परिचित छ। तर केरलामा देखिएको फुटबल प्रेमले त्यसलाई अलग बनाइदिएको छ।

आइतबार अर्जेन्टिना र फ्रान्सबीच खेलिएको फिफा कपको फाइनल पनि केरला राज्यभर लाखौं मानिसहरूले अस्थायी स्क्रिनहरू जडान गरेर हेरे। सडकमा अर्जेन्टिना र फ्रान्सको झण्डा पनि फहराइएको थियो।

यसैबीच फुटबलप्रति एक जोडीको गज्जबको समर्पण देखिएको छ। सचिन आर. र आर. अथिराको विवाह पनि आइतबार भएको थियो। 

उनीहरू दुवै विवाहका लागि सबै कुरामा सहमति भए पनि फिफा विश्वकपको फाइनलमा भने आफ्नो मनपर्ने टोलीलाई समर्थन गर्ने विषयमा भने सहमति हुन सकेन।

सचिन अर्जेन्टिनाका स्टार लियोनल मेस्सीका कट्टर प्रशंसक हुन् भने अथिरा फ्रान्सेली फुटबल टोलीका समर्थक हुन्। विश्वकप फुटबलको इतिहासमा यो शानदार खेल हुनुभन्दा केही घण्टाअघि यी जोडीले कोची शहरमा विवाह गरेका थिए।

दुवै जोडीले विवाहको परम्परागत पोशाक र गहनासहितको जर्सी लगाएका थिए। दुलही अथिराले फ्रान्सका केलियन एमबाप्पेको जस्तै जर्सी लगाएकी थिइन् भने सचिनले अर्जेन्टिनाका मेस्सीको जर्सी लगाएका थिए।

विवाह समारोहपछि, दम्पतीले आफ्नो रिसेप्शन र विवाह भोज सके र सनसनीपूर्ण फाइनलको नतिजाका लागि २०६ किलोमिटर टाढा तिरुवनन्तपुरममा रहेको सचिनको घर फर्कियो।

विश्वकपको उपाधि अर्जेन्टिनाले पेनाल्टी सुटआउटमा ४–२ ले जितेको थियो। जितपछि ३५ वर्षीय मेस्सीले विश्वकप ट्रफी उचाल्ने मौका पाए।

मेस्सीको केरलामा ठूलो फ्यान फलोइङ छ, आइतबार राति मानिसहरूले राज्यभर अर्जेन्टिनाको झण्डा फहराए र आतिशबाजी पनि गरियो।

अर्जेन्टिनाको जितपछि त्रिशूरका एक होटल मालिकले निःशुल्क बिरयानी बाँड्ने आफ्नो वाचा पूरा गरेका छन्।

फ्यानहरूले राज्यमा फुटबल स्टारहरूको विशाल कटआउटहरू राखेपछि केरलाको फुटबलप्रतिको समर्पणले गत महिना फिफाको ध्यान तानेको थियो।

ब्राजिलियन खेलाडी नेयमारले पनि यी कटआउटहरू देखे र राज्यमा रहेका आफ्ना फ्यानहरूलाई धन्यवाद दिए।

पुष ४, २०७९ सोमबार २१:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।