छोराको विवाहबारे सोध्दा ज्याकी श्राफ भन्छन्– ‘टाइगरको विवाह भइसक्यो’
एजेन्सी : छोटो समयमै बलिउडमा छुट्टै स्थान बनाएका अभिनेता हुन् टाइगर श्राफ।
सुरुवाती समयमा व्यक्तिगत र व्यावसायिक जीवनमा सल्लाह र सुझाव दिने टाइगरका पिता ज्याकी श्राफ अहिले भने उनको व्यक्तिगत जीवनमा खासै हस्तक्षेप गर्दैनन्।
यसैबीच ज्याकी पछिल्लो समय छोराको व्यक्तिगत जीवनको विषयमा एक अन्तरवार्तामा बोलेका छन्। छोराको विवाहको विषयमा अहिले नै कुरा कुरा गर्नेबेला नभएको उनले बताएका छन्।
यद्यपि उनले छोराका विवाह भइसकेको बताए। उनले एक अन्तरवार्तामा भने, ‘मलाई थाहा छैन। अहिले उसले आफ्नो कामसँग विवाह गरेका छन्।’
त्यसपछि ज्याकीलाई सोधियो, ‘के तपाईंले बुवाको हैसियतको विवाहको लागि कुरा गर्नुभएन?’
जवाफमा ज्याकीले भने, ‘म उसलाई कसरी विवाहको लागि सोध्न सक्छु ? उसले आफ्नी श्रीमतीसँग जीवन बिताउनुपर्छ, त्यसैले उसले निर्णय लिन्छ। मैले बीचमा किन हस्तक्षेप गर्नु? जे लेखिएको छ, त्यही हुन्छ। मलाई आशा छ उसले जे चाहन्छ त्यो पाउँछ, उसले जीवनमा चाहेको सबै पाउँछ, राम्रो केटी पनि पाउँछ। अहिले उसले कामसँग मात्र विवाह गरेको छ। म उसलाई यति मात्र भन्छु कि तिमी जे गर्छौ, पूरा मनले गर र सबैलाई सम्मान गर।’
हालै ज्याकीको मुख्य भूमिका रहेको फिल्म ‘लाइफ इज गुड’ रिलिज भएको थियो।
टाइगर भने चाँडै नै कृति सेननसँगको फिल्म ‘गणपत’मा देखिँदैछन्। यसबाहेक उनी अक्षय कुमारसँग फिल्म ‘बडे मियाँ छोटे मियाँ’मा पनि एक्सन गर्दैछन्।
पुष ४, २०७९ सोमबार १७:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।