कांग्रेस-एमाले-माओवादीदेखि नयाँ दलसम्मले सरकारको नेतृत्व गर्न सक्ने यस्तो छ पाँच विकल्प
काठमाडौँ : सोमबार चितवन पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वमा सरकार गठनको दाबी स्वाभाविक भए पनि सत्ता गठबन्धनको बैठकमा औपचारिक प्रस्ताव नगरेको बताए। उनले प्रधानमन्त्री बन्न सबै कुरा दाउमा नराख्ने भन्दै प्रधानमन्त्रीको दौडमा सफ्ट भएको सङ्केत मात्र गरेनन् एमालेसँग मिलेर सरकार बनाउने वा पार्टी एक हुने हल्ला मात्रै भएको दाबी गरे।
तर योसँगै उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पहिला नै आलोपालो प्रधानमन्त्रीका लागि मौखिक सहमति भएको भन्दै प्रधानमन्त्री बन्ने प्रयासमा सक्रिय नै रहेको सन्देश समेत दिए। सोमबारै गठबन्धनको अर्को दल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिलेकै गठबन्धनको नेतृत्वमा सरकार बन्ने दाबीसँगै ठुला दललाई अहङ्कार नगर्न चेतावनी पनि दिए।
उता नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठन गर्दा आन्तरिक छलफल गरिरहेको छ नै। बुधवार संसदीय दलको नेताको चयनपछि यसलाई औपचारिक रूपमा तीव्रता दिने उसको तयारी देखिन्छ।
मङ्सिर ४ को निर्वाचन अगाडि गठबन्धन र तालमेल गरेर निर्वाचनमा होमिएको सत्ताधारी कांग्रेस र त्यो बेलाको प्रमुख प्रतिपक्षी दल एमालेले पाएको मत सरकार बनाउन बहुमत पुग्ने देखिन्न। कांग्रेस ८९ सिट सहित पहिलो दल बनेको छ। एमाले ७८ सिट सहित दोस्रो ठुलो दल। अन्य दलहरूको सिट सङ्ख्या निकै तल छ।
सत्ताधारी गठबन्धनमा रहेका दलहरूको कुल सिट सङ्ख्या जम्मा १ सय ३६ रहेको छ। सरकार बनाउन उसलाई २ सिट पुगेको छैन। सरकार बनाउन सत्ता गठबन्धनमा नयाँ दलको समर्थन अनिवार्य छ।
उता एमालेले तालमेल गरेको दलहरूको सिट जोड्दा उसको साथमा जम्मा एक सय ४ सिट मात्रै छ। उसलाई सरकार बनाउन तालमेल बाहिरका दलको समर्थन नभई सम्भव छैन। उसलाई माओवादी वा एकीकृत समाजवादीकै समर्थन चाहिन्छ।
न गठबन्धनमा न तालमेलमा सहभागी नभएका नयाँ तीन दलसँग २९ सिट छ। एमालेले यी तीनै दलको समर्थन पाउँदा पनि आफ्नो नेतृत्वमा सरकार बनाउन कठिन छ। सत्ता गठबन्धनका हकमा नयाँ तीन दलमध्ये जसले समर्थन गरे पनि सरकार बनाउन आवश्यक सङ्ख्या पुग्ने छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार बनाउने दाबी पेस गर्न पुस १० गतेसम्मको समय सीमा दिएकाले जुन दलको नेतृत्वमा सरकार बने पनि देखिएको अङ्क गणित यिनै हुन्।
गठबन्धनसहित कांग्रेस-माओवादीको नेतृत्वमा सरकार
पहिलो सम्भावना गठबन्धनसहित नयाँ दलको समर्थनमा कांग्रेसको नेतृत्वमा सरकार बन्ने नै हो। सत्ता गठबन्धनमा रहेका कुनै दलले पल्टी नमारे यो सहज पनि देखिन्छ।
सत्ता गठबन्धनमा रहेका पाँच दलमध्ये कांग्रेस ८९, माओवादी ३२, एकीकृत समाजवादी १०, लोकतान्त्रिक समाजवादी ४ र राष्ट्रिय जनमोर्चा १ गरेर १ सय ३६ सिट गठबन्धनभित्रै छ। जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी सरकारमा जान सकारात्मक छन्।
यी दुवै दललाई सरकारमा आउने बाटो खुलाउन सरकारले विवादित अध्यादेश समेत ल्याइसकेको छ जुन राष्ट्रपति कार्यालयमा पुगेर अड्किएको छ। जनमत र नागरिक उन्मुक्तिले कांग्रेस नेतृत्वको गठबन्धनलाई समर्थन गरेमा सहजै एक सय ४५ पुग्छ।
अहिले हेर्दा यही समीकरणमा सरकार बन्ने सम्भावना बलियो देखिन्छ।
गठबन्धन भत्काएर एमाले-माओवादी नेतृत्वमा सरकार
अर्को विकल्प भनेको एमाले नेतृत्वमा सरकार गठन हो। यसका लागि अहिलेको सत्ताधारी गठबन्धन भने भत्कनै पर्छ। सत्ताधारी गठबन्धनमध्ये तेस्रो शक्ति रहेको माओवादी आएमा एमालेलाई सहज हुनसक्छ। चुनावी तालमेलमा रहेका दलहरूले साथ नछाडी माओवादीले समर्थन गरेमा एमाले पनि एक सय ३६ अङ्कमा पुग्छ। यसमा पनि नागरिक उन्मुक्ति या जनमत पार्टीको समर्थन पाए सहजै सरकार बन्छ नै।
माओवादी केन्द्र र एमालेका केही नेता यही समीकरणका आधारमा सरकार बनाउने गृहकार्यमा सक्रिय देखिएका छन्। माओवादीबाट महासचिव देव गुरुङ र एमालेबाट शङ्कर पोखरेल लगायतका नेता निरन्तर छलफलमा छन्। माओवादीको सर्त ओली बाहेकको नेतृत्व अनि एमालेको सर्त प्रचण्ड बाहेकको नेतृत्व रहेकाले यसमा सहमति हुने सम्भावना त्यति बलियो देखिन्न।
अर्को विकल्पमा पनि सत्ता गठबन्धन भत्काउने नै विकल्प हो। सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादीले एमालेलाई साथ दियो र न गठबन्धन न तालमेलमा रहेका नयाँ तीन दलसँग रहेको २९ सिट एमालेमा जोडियो भने एक सय ४३ पुग्छ नै।
जुन रूपमा एकीकृत समाजवादी पार्टी गठन भयो त्यो हेर्दा माओवादीको समर्थनविना तत्काल एकीकृत समाजवादीले एमालेलाई समर्थन गर्ने सम्भावना देखिन्न। माओवादीको समर्थन एमालेलाई भयो र एकीकृत समाजवादीले नि समर्थन गर्यो भने एमालेलाई नयाँ तीन दलमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीको मात्र समर्थन भयो भने पुग्छ।
कांग्रेस-एमाले आलोपालो
तेस्रो विकल्प भनेको पहिलो दल बनेको कांग्रेस र दोस्रो दल बनेको एमाले मिलेर सरकार गठन गर्ने। यो विकल्पमा जाँदा अन्य दलको समर्थन नै चाहिन्न। दुवै दलको गरेर सरकार बनाउन चाहिने एक सय ३८ सिट सहजै पुग्छ।
सरकारमा सहभागी नहुने तर कांग्रेसलाई नि सर्त सरकारमा समर्थन गर्ने एमालेको प्रस्ताव कांग्रेससम्म नपुगेको पनि हैन। केही चरणमा छलफल भए पनि सरकार अस्थिर हुने र गठबन्धनका अन्य दल पनि बाहिरिँदा जोखिम बढ्ने भन्दै कांग्रेसका नेता यो कोर्समा त्यति निश्चिन्त हुन सकेको देखिएन।
माओवादीविना कांग्रेस नेतृत्व
यदि माओवादी एमालेसँग तालमेल गर्न गयो तर एकीकृत समाजवादी गठबन्धनमै बस्यो भने कांग्रेसले नयाँ तीन दल र एमालेसँग तालमेलमा रहेको २ मध्ये एक दलको समर्थन लिएर सरकार बनाउन पनि सक्छ। माओवादी बाहिरिँदा गठबन्धनको पक्षमा एक सय ४ सिट रहन्छ।
नयाँ तीन दलको २९ सिट जोडिदा एक सय ३३ पुग्छ। यसमा राप्रपाको १४ वा जनता समाजवादी पार्टीको १२ सिट जोडियो भने माओवादीविना नै कांग्रेस नेतृत्वमा सरकार बन्न सक्छ। तर लोसपासँग गठबन्धन गरेको समूहमा जसपा मिसिन आउने सम्भावना कम छ। राप्रपाले सरकारमा नजाने तर आफ्नो समर्थन नहुँदा सरकार बन्न नसक्ने अवस्थामा कुनै दललाई समर्थन गर्ने सक्ने भनेकाले कांग्रेसको पहल प्रभावकारी बने राप्रपाको समर्थन पाउन सक्छ।
नयाँ दलको नेतृत्वमा सरकार
नयाँ दलमध्ये चौथो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सरकारको नेतृत्व गर्ने दाबी गरेको थियो प्रारम्भमा। तर पछिल्लो समय यो दलका सभापति रवि लामिछाने आफ्नो नेतृत्वमा सरकार गठन भन्दा पनि एमाले-माओवादी वा कांग्रेसको नेतृत्वमा बन्न सक्ने सरकारमा सहभागी हुन राजनीतिक भेटघाटमा सक्रिय छन्।
रास्वपाले सरकार बनाउने दाबी गर्ने हो भने उसलाई एक सय १८ सांसदको समर्थन चाहिन्छ। यसमा कांग्रेस वा एमालेको समर्थन अनिवार्य रह्यो नै सँगै अन्य दलको पनि समर्थन चाहिन्छ।
नयाँ तीन दलको समर्थनसँगै राप्रपा र जसपाको समर्थन पाएमा ५५ सिट पुग्छ। यसमा कांग्रेसको समर्थन मिसियो भने एक सय ४४ पुग्छ। एमालेको समर्थन पाएमा अझैँ पाँच सिट चाहिन्छ। त्यसमा एकीकृत समाजवादी निर्णायक हुनसक्छ। यसैमा अन्य साना दलले प्रयास गरे पनि समीकरण यही नै हो।
२०५१ पछि भएका राजनीतिक अभ्यास हेर्ने हो भने यो असम्भवै त हैन तर समीकरण बन्न निकै कठिन देखिन्छ।
पुष ४, २०७९ सोमबार १६:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।