विश्वकपमा ‘वनएक्सबेट’मार्फत सट्टाबाजी गराउने दुई एजेन्ट पक्राउ
काठमाडौं : विश्वकप फुटबलमा ‘वन एक्स बेट’ लगायतका बेटिङ एप्लिकेसनमार्फत सट्टाबाजी लगाउन रकम संकलन गर्ने गराउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा भक्तपुरको भक्तपुर नगरपालिका–१६ घर भई चाँगुनारायण नगरपालिका–९ ताथली बस्ने ३१ वर्षीय सुनिल चौगुठी र भक्तपुर नगरपालिका–१२ घर भई सूर्यविनायक नगरपालिका–८ आदर्शटोल बस्ने २५ वर्षीय अजय भेले रहेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले ‘वन एक्स बेट’का एजेन्टको रूपमा सक्रिय रहेका उनीहरूलाई पक्राउ गरेको हो।
उनीहरूले विभिन्न प्रलोभन देखाएर एजेन्ट बन्नका लागि प्रोत्साहित गर्ने गरेको, एजेन्टको रूपमा १ वर्षदेखि कार्य गर्न थालेको, ‘रिडि’ नामक एप्लिकेसन बनाई कारोबार गर्ने गरेको र बढि रकम संकलन गर्ने गरेको तथ्य खुलेको कार्यालयले जनाएको छ।
साथै सुनिलको २३ वटा बैंकमा रहेका २५ वटा खाताहरूमध्ये ७ वटा बैंक खाताहरूबाट करिब १ वर्षको अवधिमा २ करोड ४५ लाख ७१ हजार ८ सय ९९ रूपैयाँ र अजयको विभिन्न १९ वटा बैंक खाताहरूमध्ये ५ वटा बैंक खाताहरूबाट करिब ६ महिनाको अवधिमा ६० लाख २९ हजार ९ सय १५ रूपैयाँ बराबरको कारोबार भएको अनुसन्धानबाट खुल्न आएको छ।
उनीहरूलाई सट्टाबाजी गर्न गराउन नहुने कसूर अन्तर्गत थप अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ।
पुष ४, २०७९ सोमबार १४:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।