नदीमा जलसतह घटेपछि प्राधिकरणले राेक्याे भारतमा बिजुली पठाउन, उल्टाे भारतसँगै किन्दै
काठमाडाैं। नदीमा जलसतह लगातार घटेपछि नेपाल विद्युत् प्राधिकरणले भारततर्फको बिजुली निर्यात रोकेको छ। स्वदेशमै बिजुली आपूर्ति गर्नुपर्ने भएकाले भारतमा हुँदै आएको निर्यात रोकिएको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी दिए।
प्राधिकरणले यसवर्ष कुल ११ अरब रुपैयाँ बराबरको बिजुली भारत निर्यात गरेको छ। गत जेठ १९ गतेदेखि भारत निर्यात सुरु गरेको प्राधिकरणले गत मंसिर अन्तिम सातासम्म निर्यात गरेको थियो।
सुरुमा ३९ मेगावाटबाट निर्यात सुरु गरेको प्राधिकरणले कुल चार सय १९ मेगावाटसम्म निर्यात गरेको थियो। भारतमा प्रतियुनिट विजुली औसत आठ रुपैयाँ २५ पैसामा बिजुली बिक्री गरिएको थियो।
नदीमा जलसतह घटेपछि आन्तरिक माग व्यवस्थापनका लागि प्राधिकरणले हाल भारतबाट तीन हजार मेगावाट घण्टा बराबरको बिजुली आयात गरेको प्रवक्ता भट्टराईले जानकारी दिए।
चिसो बढेसँगै बिजुलीको मागमा पनि वृद्धि भइरहेको छ भने हिउँद लागेपछि नदीमा जलसतह ओरोलो लाग्दा अपेक्षित क्षमता अनुसारको बिजुली उत्पादन हुन सकेकाे छैन।
बिहान ३ बजेदेखि ११ बजेसम्मको माग व्यवस्थापनका लागि प्राधिकरणले बिजुली आयात गरिरहेको छ।
पुष ४, २०७९ सोमबार १४:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।