उद्धव पौडेलले फिल्म कुसुमे रुमालको एक पैसा नदिएको रञ्जित गजमेरको गम्भीर आरोप

उद्धव पौडेलले फिल्म कुसुमे रुमालको एक पैसा नदिएको रञ्जित गजमेरको गम्भीर आरोप

काठमाडौँ : फिल्म निर्माता तथा नेता उद्धव पौडेलमाथि अर्काको लगानीको फिल्म आफ्नो नाममा दर्ता गरेर नेपालमा प्रदर्शन गरेर कमाएको एक पैसा नदिएको गम्भीर आरोप लागेको छ। नेपाली फिल्म क्षेत्रसँग लामो सम्बन्ध रहेका रञ्जित गजमेरले उनीमाथि यस्तो धोका दिएको आरोप लगाएका हुन्।

हालै बजारमा आएको गजमेरको आत्मकथा 'मोहनी मादलको' मा उनले कुसुमे रुमालको सबै काम सक्काए पनि नेपालमा प्रदर्शन गर्न नेपाली नागरिकै हुनुपर्ने कानुन प्रावधानले समस्या आएको उल्लेख गरेका छन्। गजमेर भारतीय नागरिक हुन्।

त्यही बेलामा पौडेलले नेपालमा आफ्नो नाममा नेपालमा कुसुमे रुमाल दर्ता गर्न सकिने भनेपछि खुसी भएर दिएको तर उनले धोका दिएको उल्लेख गरेका छन्।

'हामीले अत्यन्त विश्वासका साथ पौडेललाई कुसुमे रुमालको प्रिन्ट थमाएर नेपाल पठायौँ। नेपाल पुगेर उहाँले त्यो फिल्म आफ्नो ब्यानरमा दर्ता गर्नु भएछ। सिनेमा धूमधामले चल्यो। ठाउँ ठाउँमा सिल्भर जुब्ली र एक सय दिन पनि मनायो। तर पौडेलले मुनाफाबाट हामीलाई एक पैसा पनि दिनु भएन, पुस्तकको एक सय १७ पेजमा लेखिएको छ।

उनले त्यही फिल्मबाट कमाएको पैसाले गोपीकृष्ण सिनेमा हल बनाएको बन्ने सुनेको लखेका छन्। त्यसपछि पौडेल एकाएक वैरी बनेको भन्दै उनले आत्मकथामा त्यही बेलादेखि उनीसँग बन्द भएको बोलचाल अझैँ कायम रहेको लेखेका छन्।

'हाम्रै घरमा बसेको। मेरै श्रीमतीले पकाएको खाएको मान्छेले त्यसरी धोका देला भन्ने मैले सपनामा पनि सोचेको थिइन,' उनले लेखेका छन्।

पौडेल र उनको परिवार अहिले चलचित्र निर्माण र वितरणको क्षेत्रमा संलग्न छन् भने उनीहरूले गोपीकृष्ण हलसँगै मनोरञ्जनात्मक रेडियो समेत चलाएका थिए। उनी राप्रपाका नेता समेत हुन्।

पौडेल बालाजुमा रहेको चलचित्र विकास कम्पनीको जग्गा अपचलनमा समेत बारम्बार मुछिने गरेका छन्। 

पुष ४, २०७९ सोमबार १४:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।