लासहरूका बीचमा विवाह

लासहरूका बीचमा विवाह

एजेन्सीः सुन्दै अनौठो र अपत्यारिलो लाग्ने, लासहरूका बीचमा विवाह गराइने एउटा परम्परा चीनको सैंगजी प्रान्तमा तीन हजार वर्षदेखि चलिरहेको छ। यस दुनियाँमा देशैपिच्छे र समाजैपिच्छे अनौठा खालका रीतिरिवाज र मान्यता चल्दै आइरहेका छन्।

यसको पालना धार्मिक अथवा सामुदायिक भावनाले उत्प्रेरित भएर हुने गर्छ। यी मध्ये कुनै कुनै परम्परा यस्ता हुन्छन्, जसलाई सुनेर या देखेर बाँकी दुनियाँले जिब्रो टोक्छ।

यस्तै सुन्दै विश्वास नलाग्ने किसिमको एउटा परम्परा छिमेकी देश, चीनमा प्रचलित छ। जहाँ लासहरूका बीचमा विवाह गराइन्छ। यस परम्परालाई चीनमा ‘घोस्ट वेडिङ’ अर्थात् ‘भूत विवाह’ भनेर चिनाउने गरिन्छ।

यस परम्परामा कसैको विवाह नहुँदै मृत्यु भएको रहेछ भने त्यसरी विवाह नहुँदै मृत्यु भएका केटा र केटीलाई आपसमा विवाह गराइइन्छ। जसकाे उद्देश्य भनेकाे जिउँदो हुँदा नमिलेको वैवाहिक सुख मृत्युपछि भए पनि मिलोस् भन्ने हाे।

विवाहका बेला केटाको चिहानमा केटीको चिहानबाट निकालेका हाडहरू मिलाइन्छ। त्यस कार्यले उनीहरू सँगसँगै रमाइलोसँग बस्छन् भन्ने मान्यता पाएकाे छ।

यो भूतकाे विवाह पनि आम मानिसकै झैं धुमधामसँग गरिन्छ। यसमा दुलहीलाई गरगहना पनि दिइन्छ। यो परम्परा चीनमा अहिलेसम्म पनि चल्दै आइरहेको छ।

पुष ४, २०७९ सोमबार १४:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।