संसदीय दलको नेता छान्ने गृहकार्यमा दलहरू, कांग्रेसमा सकस, अरूलाई सहज

संसदीय दलको नेता छान्ने गृहकार्यमा दलहरू, कांग्रेसमा सकस, अरूलाई सहज

काठमाडौँ : राष्ट्रपति कार्यालयबाट सरकार बनाउने समय निर्धारण गर्दै आव्हान भएपछि प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरू संसदीय दलको नेता चयनमा केन्द्रित भएका छन्। नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न समिति नै गठन गरिसक्यो।

एकीकृत समाजवादीले सोमबार संसदीय दलको नेता चयनमा छलफल गर्न बैठक राखेको छ। एकीकृत समाजवादीमा पार्टी अध्यक्ष माधव नेपाल बाहेक अन्यले संसदीय दलको नेतामा दाबी गरेका छैनन्।

आन्तरिक छलफलमा रहेको माओवादी केन्द्रमा पनि पार्टी अध्यक्ष पुष्पकमल दाहाल नै संसदीय दलको नेता चयन हुने देखिन्छ। एमालेमा पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अन्य कुनै सांसदले चुनौती दिने देखिएको छैन।

उता कांग्रेसमा भने निर्वाचन हुने देखिन्छ। औपचारिक रूपमै पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाले संसदीय दलको नेताको नेताका लागि उम्मेदवार बन्ने सार्वजनिक गरिसकेका छन्। अर्का नेता शेखर कोइराला पनि आन्तरिक तयारीमा देखिएका छन्।

उता साना दलहरूले भने संसदीय दलको नेता चयन गर्ने प्रक्रिया टुङ्ग्याइरहेको छ। २० सिटसहित संसद्को चौथो शक्ति बनेको राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वसम्मत रूपमा पार्टी सभापति रवि लामिछानेलाई नै संसदीय दलको नेता चयन गर्ने निर्णय गरेको छ।

उनको संसद् पद र नागरिकताबारे भने सर्वोच्च अदालतमा रिट परेको छ। पुस ६ गते रिटको पहिलो सुनुवाइ छ। उनलाई शपथ समेत नखुलाउन माग गरिएकाले उनको विपक्षमा आदेश आएमा संसदीय दलको नेता परिवर्तन गर्नुपर्ने छ।

१४ सिटसहित पाँचौँ शक्ति बनेको राष्ट्रिय स्वतन्त्र पार्टी छलफलमै देखिन्छ। १२ सिट सहितको जनता समाजवादी पार्टी पनि गृहकार्यमै देखिन्छ। छैटौँ शक्ति बनेको जनमत पार्टीले पार्टी अध्यक्ष सिके राउतलाई नै संसदीय दलको नेता बनाइसकेको छ।

पुष ४, २०७९ सोमबार १३:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।