प्रधानमन्त्रीको दावेदारीमा नरम देखिए प्रचण्ड, एमालेसँग पार्टी एकताको छलफल नभएको दावी

प्रधानमन्त्रीको दावेदारीमा नरम देखिए प्रचण्ड, एमालेसँग पार्टी एकताको छलफल नभएको दावी

चितवन: माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले गठबन्धनबाट आलोपालो प्रधानमन्त्री हुनेबारे कुरा भए पनि लिखित सहमति नभएको दावी गरेका छन्। सोमबार चितवन पुगेका उनले गठबन्धनकै सरकार बन्ने तर प्रधानमन्त्री को हुने भन्ने निश्चित नभएको बताए।

प्रधानमन्त्रीमा आफ्नो दावेदारी स्वाभाविक भएको बताउँदै उनले आफू प्रधानमन्त्री बन्नेबारे गठबन्धनको बैठकमा औपचारिक प्रस्ताव भने नराखेको बताए। उनले प्रधानमन्त्रीका लागि सबै दाउमा राख्ने स्वभाव नभएको भन्दै यसपटक पनि सबै दाउमा नलगाउने बताए।

प्याकेजमा सहमति

चितवनमा प्रेस सेन्टरले आयोजना गरेको कार्यक्रममा उनले एक साताभित्र प्रधानमन्त्री, राष्ट्रपति, उपराष्टपती, सभामुख र उपसभामुख प्याकेजमा सहमति गरेर सरकार बन्ने बताए। नेपाली कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै पद मागेको हल्ला मात्र भएको दावी गर्दै उनले गठबन्धनको बैठकमा यस्तो कुरा नआएको र 'पावर सेयरिङ'को सहमति हुने बताए।

गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउन प्रस्ताव आइरहेको तर तत्काल सो सम्भव नभएको उनको भनाइ थियो।

रवि तीन पटक भेट्न आए
कार्यक्रममा पत्रकारले जनमत पार्टी र नागरिक उन्मुक्तिका नेतासँग भेट्ने तर राष्ट्रिय स्वतन्त्र पार्टीका नेतासँग किन नभेटेको भनेर प्रश्न गरेका थिए।

उत्तरमा प्रचण्डले उक्त भनाइ गलत भएको र सबैसँग भेट भइरहेको बताए। राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रवि लामिछानेसँग तीन पटक भेट र छलफल भइरहेको उनले बताए।

सरकार बनाउने विषयमा सबै दलबीच खुला छलफल भइरहेको र यो सामान्य प्रक्रिया रहेको उनको भनाइ थियो।

उनले एमालेसँग पार्टी एकता वा सरकार बनाउने सहमति सबै हल्ला मात्र भएको दावी गरे। छलफल भने सबैसँग भइरहेको बताउँदै उनले भने, 'सरकार गठनबारे कांग्रेस र एमालेबीच पनि छलफल भएको छ। हाम्रो पनि भएको छ। तर छलफल हुँदैमा सहमति भयो भन्ने हुन्न।'

पुष ४, २०७९ सोमबार ११:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।