बोराभरी पुस्तकालयको नाम तर केशरका अधिकारी भन्छन् 'घाममा सुकाएको पुस्तक केशर पुस्तकालयको होइन'
काठमाडौं : केशर पुस्तकालयको परिसरभरि पुस्तकको बोराहरू छरपस्ट छन्। बोराबाट निकालेर केही पुस्तक घाममा गुन्द्रुक सुकाए जसरी सुकाइएको छ। पुस्तकमा केशर पुस्तकालयको छाप छ। अनी बोरामा पनि पुस्तकालयकै नाम। तर जिम्मेवार अधिकारी ति पुस्तक पुस्तकालयको नभएको दाबी गर्छन्।
केशर पुस्तकालयका प्रमुख सुरेशकुमार यादव भन्छन्, 'एक पाठकले पढिरहेको समयमा हल्ला भयो भनेर झर्केका थिए। त्यसपछि उनले बाहिर गएर जथाभावी फोटो भिडियो खिचेछन्। जसले गर्दा अहिले बाहिरी आवरणलाई मात्र हेरेर केशर पुस्तकालयमाथि आँखा लगाउनेहरू धेरै भएका छन्। वास्तवमा बाहिर राखिएको पुस्तकहरू र पुस्तक राखिएका बोराहरू केशर पुस्तकालयको होइन।'
२०७२ सालको भूकम्पपछि जीर्ण बनेको केशर पुस्तकालयको पुरानो भवन पुनः निर्माणको काम भइरहेको छ। त्यसै भवनमा बसेका केही व्यक्तिहरूले भूकम्पको समयमा आवश्यक कागजपत्रहरू मात्र लिएर हिँडेको तर बाँकी रहेका कागपत्र त्यहीँ छोडेको पनि यादव बताउँछन्।
त्यसमाथि केशर पुस्तकालयको पुस्तकमा लोगो हुने र त्यसबारे जाँच समेत नगरी अफवाह फैलाइएको यादवको दावी छ। 'त्यो समय त्यस्तै थियो। त्यतिबेला मान्छेलाई कसरी आफ्नो ज्यान जोगाउने भन्नेमा मात्र ध्यान थियो', यादवले भने, 'केशर पुस्तकालयको पुस्तकमा पुस्तकालयको छाप र पुस्तकालयकै लोगो हुन्छ। यत्ति पनि हेर्न आवश्यक नठानेर बाहिर राखिएको बुकको आधारमा पुस्तकालयमाथि अनेकन् आरोप लगाउनेलाई के नै भन्न सकिन्छ र?'
केशर शमशेरको २०२१ सालमा निधन भयो। तर उनले निधन हुनुपूर्व आफ्नो निजी पुस्तकालय राज्यलाई हस्तान्तरण गर्ने इच्छा व्यक्त गरेका थिए। उनकी श्रीमती कृष्णचन्द्रदेवी राणाले केशर पुस्तकालय, केशर महल, स्वप्न बगैँचा र यसले ओगटेको झण्डै ३२ रोपनी जग्गा सरकारलाई हस्तान्तरण गरेकी थिइन्।
यद्यपि, बाहिर राखिएका पुस्तकसमेत व्यवस्थापन गर्न आफूहरूले समिति बनाउनले काम छिटै सुरु गर्ने उनको दावी छ।
केशर पुस्तकालयको इतिहास
केशर पुस्तकालयभित्र ११ सय वर्ष पुराना हस्तलिखित पुस्तकदेखि इतिहास र संस्कृतिका ६० हजार बढी पुस्तक संग्रहित छ। यस पुस्तकालयभित्र ६७५ हस्तलिखित पुस्तक छन् भने २७ हजार दुर्लभ पुस्तकको संग्रह गरिएको यादव बताउँछन्।
विक्रम संवत १९०७ देखि २०२५ सालसम्म राणा परिवारले चलाएको यो पुस्तकालय २०२६ सालदेखि नेपाल सरकारको स्वामित्वमा आएको थियो।
राणा प्रधानमन्त्री चन्द्र शमशेरले छोरा केशरशमशेरका लागि यो पुस्तकालय खोलिदिएका थिए। सामान्यतया पुस्तकालयका पाठ्यसामग्री लगायतका पत्रपत्रिका डिजिटल प्रविधिमा उपलब्ध भइरहेको अवस्थामा यस केशर पुस्तकालयले भने १५ सय वर्ष पुरानो इतिहास बोकेर बसेको छ। जुन आफैँमा पनि चुनौतीपूर्ण देखिन्छ।
केशर शमशेरको २०२१ सालमा निधन भयो। तर उनले निधन हुनुपूर्व आफ्नो निजी पुस्तकालय राज्यलाई हस्तान्तरण गर्ने इच्छा व्यक्त गरेका थिए। उनकी श्रीमती कृष्णचन्द्रदेवी राणाले केशर पुस्तकालय, केशर महल, स्वप्न बगैँचा र यसले ओगटेको झण्डै ३२ रोपनी जग्गा सरकारलाई हस्तान्तरण गरेकी थिइन्।
त्यसपछि यो पुस्तकालय सर्वसाधारणको निम्ति पनि खुला गरिएको थियो।
पाठक छैनन् पुस्तकालयभित्र
भूकम्पअगाडि स्वेदशी पाठक मात्र नभएर विदेशी पर्यटकलाई समेत आकर्षित गरेको केशर पुस्तकालयभित्र अहिले फाट्टफुट्ट मात्र पाठक देखिन्छन्।
तिनले पनि व्यवस्थित तवरले अध्ययन गर्न पाइरहेका छैनन्। सानो ठाउँमा वरिपरि बसेका पाठकहरूलाई एउटा मानिस मात्र भित्र छिर्दा पनि ध्यान भङ्ग हुने देखिन्छ। कोर्सबुक पढ्ने विद्यार्थी र केही पत्रिका पढिरहेका व्यक्तिहरू पनि पुस्तकालयको बाहिरी वातावरण र भित्रको अव्यवस्थित वातावरणले ध्यान दिएर पढिरहेका जस्ता देखिँदैनन्।
पहिले बगैँचा रहेको केशर पुस्तकालयभित्र अहिले जताजतै पुस्तकका बोराहरू र पुस्तक छरिएका छन्। यस्तै पुस्तकालयको पुरानो भवन निर्माण कार्यले पनि पुस्तकालयलाई झनै अव्यवस्थित बनाएको छ।
बल्लबल्ल केशर पुस्तकालय भित्र छिरेपछि पनि पढ्न बस्ने ठाउँकै अभाव छ। पुस्तक कुन कता छ खोज्न नै समस्या छ।
यसबारे सोध्दा यादव भन्छन्, 'भूकम्पपछि ठाउँको अभाव भयो। वैकल्पिक रूपमा बनाइएको ठाउँमा पुस्तक राख्न परेको छ। जति आउँछन् हामीले तिनलाई सकेसम्म व्यवस्थापन गर्न त खोजेका नै छौँ। अब नयाँ भवन बनेपछि यो चिन्ता पनि हटेर जान्छ।'
के छ पुस्तकालयको वर्तमान अवस्था?
पुस्तकालयभित्र छिर्दै गर्दा लाग्छ भूकम्प भर्खरै गएको हो। वातावरण हेर्दा केशर पुस्तकालयलाई कतै बाट पनि पुस्तकालय जस्तो दैखिँदैन। बरू केशर पुस्तकालयको गेटबाट भित्र छिरेपछि पुस्तकालय कता छ भनेर खोज्नुपर्छ।
भित्र पस्दै गर्दा थुप्रै मानिसहरू काठको काम गरिरहेका देखिन्छन्। सँगै राखिएको काठ र पुस्तकको थुप्रो देख्दा त्यसमा कुनमा पुस्तक छ र कुनमा काठ छ त्यहाँको कामदारलाई नै छुट्याउनै मुस्किल छ।
बल्लबल्ल केशर पुस्तकालय भित्र छिरेपछि पनि पढ्न बस्ने ठाउँकै अभाव छ। पुस्तक कुन कता छ खोज्न नै समस्या छ।
देशकै पुरानो पुस्तकालयको यो हालत देखेर बिरक्तिएका पाठक राजु झल्लु प्रसाद भन्छन्, 'ऐतिहासिक र पुरानो देशकै सरकारी पुस्तकालयको हालत देख्दा रून मात्र सक्दिनँ। केशर पुस्तकालयको हालत देखेर मैले पनि पुस्तक र पुस्तकालय जोगाउने अभियान सुरु गर्न खोजेको छु।'
पुष ४, २०७९ सोमबार ११:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।