'ओभरटेक' गर्दा मोटरसाइकल दुर्घटना: एक जनाको मृत्यु, पाँच घाइते

'ओभरटेक' गर्दा मोटरसाइकल दुर्घटना: एक जनाको मृत्यु, पाँच घाइते

काठमाडौं: पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने कृष्णपुर नगरपालिकाको लालझाडी वन क्षेत्रमा गए राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सोही दुर्घटनामा पाँच जना घाइते भएका छन्।

ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहका अनुसार म२प ६१८९ नम्बरको स्कुटरलाई सुपप्र-०१-००८प १५८७ नम्बरको मोटरसाइकलले ‘ओभरटेक’ गर्दा अर्को से२त ८२० नम्बरको ट्र्याक्टरमा ठोकिँदा १५८७ का मोटरसाइकल चालक बेलडाँडीका अन्दाजी २६ वर्षीय कृष्णसिंह साउदको मृत्यु भएको छ।

दुर्घटमा परी घाइते भएका साउदलाई प्रहरीको सहयोगमा कैलालीको माया मेट्रो अस्पतालमा उपचारका लागि पुर्याउँदै गर्दा मृत्यु भएको प्रहरी निरीक्षक सिंहले बताए। ट्र्याक्टरमा सवार कैलालीको घोडाघोडी नगरपालिका पहलमानपुरका चार जना महिला र स्कुटर चालक वेदकोट नगरपालिका–३ का कोमलबहादुर सिंह घाइते भएका छन्। घाइतेको कृष्णपुरस्थित स्वास्थ्यचौकीमा उपचार भइरहेको छ।

घाइते पाँचै जनाको अवस्था सामान्य रहेको प्रहरीको भनाइ रहेको छ। ट्र्याक्टर र चालकलाई ईलाका प्रहरी कार्यालय गुलरियाले नियन्त्रणमा लिएको छ।

पुष ४, २०७९ सोमबार ०९:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।