द्वन्द्वकालको सम्झना गर्दै धनगढीमा गुञ्जियो नेपथ्य

द्वन्द्वकालको सम्झना गर्दै धनगढीमा गुञ्जियो नेपथ्य
तस्बिरहरू: दिपित राज / नेपालय

काठमाडौं: नेपथ्यले ‘मानवताको लागि संगीत’ नारा बोकेर देशभर गरेको भ्रमणमा आइतत्बार धनगढीमा छैठौँ कन्सर्ट पनि सम्पन्न भएको छ। द्वन्द्वकालमा बाहिरका मानिस आउन अप्ठ्यारो मान्दा पनि बारम्बार उक्त भेगमा पुगेर गीत सुनाउने नेपथ्यको चीर परिचित ध्वनी आइतबार बेलुकी फेरि रंगशालामा गुञ्जिएको थियो।

नेपथ्य टोलीले ‘आँगनैभरि हिउँनै झरे’ बाट धनगढीमा आफ्नो प्रस्तुति सुरु गरेको थियो। दोश्रो गीत थियो ‘भेँडाको ऊनजस्तो। त्यसलाई निरन्तरता दिँदै ब्याण्डले ‘छेक्यो छेक्यो’ सुनाएको थियो। ब्याण्डको दोश्रो एल्बम ‘हिमाल चुचुरे’मा अटाएको यो सर्वकालीक हिट गीतलाई देशभरिका श्रोताजस्तै धनगढीले पनि ब्यापक स्वागत गर्यो।

‘तपाईंहरूको धनगढीमा बस्दा मलाइ मेरै भेगको याद आइरहेको छ। अब रोदीघरहरूतिर लैजान्छु’ भन्दै गायक अमृत गुरुङले ‘लामपाते सुरती’ प्रस्तुत गरे। त्यसपछि भने ‘मीन पचास’ एल्बमका लोकप्रिय गीतहरू ‘चरी मर्यो’ र ‘जोमसोमे बजारमा’ प्रस्तुत गरिएको थियो।

अमृतले भने, ‘अब यो कैलालीजस्तै अर्को राम्रो ठाउँ रुकुमतिर लैजान्छु।’ यसो भनेपछि उनले पछिल्लो समय नेपथ्यले तयार पारेको अर्को लोकप्रिय गीत ‘शिरफूल शिरैमा’ गाएर सुनाएका थिए।

कार्यक्रम अवधिभर गायक अमृत गुरुङले पटक पटक मानवसेवा आश्रमको उद्देश्यबारे बोलेका थिए। ब्याण्डको पुरानो गीत ‘यो जिन्दगानी’लाई आश्रममा आश्रितहरूको तस्बिरसहितका दृश्यहरूबाट प्रस्तुत गरिएको थियो।

कन्सर्टको अन्त्यतिर ‘गाउँ गाउँबाट उठ’ गाउन सुरुगरेपछि धनगढी रंगशालामा भएभरका दर्शकहरूको खुट्टा बज्रिन थालेको थियो।

‘हामीले ठूलो लडाइँ देख्यौं । यो धनगढीमा उतिबेला आउँदा सर्वसाधारण त्रासमा बाँचेका थिए। संसार फेर्छु भन्नेहरू आफैँ फेरिएको पनि देखियो। अब त्यस्तो लडाइँ देख्नु नपरोस्’, अमृतले धुनकै बीच यी वाक्यहरू बोलेका थिए जसमा दर्शकले ठूलो आवाजका साथ समर्थन जनाएको देखिन्थ्यो।

मञ्चमा गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेसमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए।

संगीतका साथै मानवता प्रवर्द्धनकालागि नेपथ्यको यो कन्सर्ट धनगढीमा पनि सफलताका साथ सम्पन्न भएको मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले बताएका छन्। यसका निम्ति उनले सबै सहयोगीलाई धन्यवाद व्यक्त गरे।

‘धनगढीको कन्सर्टमा भव्य उपस्थितिले मनोरञ्जन र परोपकार दुवैमा सरिक हुन चाहने यस शहरका सहृदयीहरूको पहिचान पनि स्थापित गरेको छ,’ अधिकारीले भने, ‘यसैगरि मुलुकका अन्य भागमा निरन्तर चल्ने कन्सर्टहरूलाई पनि त्यहाँका मानवताप्रेमी श्रोता दर्शकहरूले सफल बनाउने विश्वास लिएको छु।’

धनगढीको कन्सर्ट सम्पन्न भएपछि ७० सदस्यीय नेपथ्य टोली पाँचवटा ट्रक र दुई वटा बसमार्फत् वीरेन्द्रनगर सुर्खेततर्फ प्रस्थान गरेको छ। मानवसेवा आश्रमकै आयोजनामा त्यहाँस्थित खुलामञ्चमा नेपथ्य पुस ६ गते बुधबार प्रस्तुत हुँदैछ।

पुष ४, २०७९ सोमबार ०८:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।