भंगहामा थारु संग्रहालय निर्माण गर्ने मन्त्री चौधरीको घोषणा

भंगहामा थारु संग्रहालय निर्माण गर्ने मन्त्री चौधरीको घोषणा

काठमाडौं: महोत्तरीको भंगहा नगरपालिका–७ मा थारु संग्रहालय बन्ने भएको छ। थारु संग्रहालय निर्माणस्थलको निरीक्षणपछि आयोजित एक कार्यक्रममा शहरी विकासमन्त्री मेटमणि चौधरीले त्यहाँ थारु संग्रहालय निर्माण गर्ने घोषणा गरेका छन्।

थारु जाति इमानदार र मेहेनती भएको बताउँदै मन्त्री चौधरीले भने, ‘कला, संस्कृतिमा सम्पन्न थारु जातिको इतिहास जोगाउन जरुरी छ। पूर्वदेखि पश्चिमसम्म फैलिएका थारुहरूले नेपाली भूमिको समेत सुरुक्षा गरेका छन्। तपाईंहरू संग्रहालयको गुरुयोजना बनाउनुहोस्। म तत्काल कार्यान्वयनमा लैजान्छु।’

थारु समुदायलाई राजनीतिमा समेत अग्रसर हुन मन्त्री चौधरीले आग्रह गरेका थिए।

मदन पट्टी वेलफेर सोसाइटीका अध्यक्ष सुदीपकुमार चौधरीले संग्रहालय बनाउन मन्त्रीलाई ज्ञापन पत्र बुभाइएको बताए। ‘संग्रहालय करिब ८ बिघामा बन्नेछ। थारु वेषभूषा, संस्कृति झल्किने सामग्रीहरूको प्रदर्शन हुनेछ। थारु खानाका परिकारहरू उपलब्ध हुनेछन्। यसै क्षेत्रभित्र कृत्रिम ताल निर्माण गरिनेछ। विभिन्न पर्वहरू, उत्सवहरू मनाउने व्यवस्था हुनेछ। यसका साथै नयाँ सांस्कृतिक तथा पर्यटकीय गन्तव्य समेत बन्नेछ’, उत्साहित हुँदै उनले सुनाए।

थारु संग्रहालयको अनुमानित लागत ६ करोड हुने बताइएको छ।

पुष ४, २०७९ सोमबार ०७:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।