मेस्सीले फ्यानलाई दिएको सुखद उत्सव : विश्वकप २०२२ को ट्रफी

मेस्सीले फ्यानलाई दिएको सुखद उत्सव : विश्वकप २०२२ को ट्रफी

काठमाडौँ : लियोनल मेस्सीले क्षेत्रीय अनि क्लबस्तरिय फुटबलमा प्राय सबै सफलता पाएकै थिए। उनी आफ्नो देश अर्जेन्टिनाका लागि मात्रै हैन विश्वभर छरिएका अर्जेन्टिनी फ्यानका लागि मीठो उपहार दिन चुकिरहेका थिए। २०२२ मा कतारमा भएको फुटबलको विश्वकपमा उनले त्यो उपहार पनि दिए।

१९८६ मा विश्वकपको विजेता भएदेखि अर्जेन्टिनी फ्यानले सेलिब्रेट गर्न पाएका थिएनन् यति मीठो उत्सव। १९७८ को जित सहित २०२२ मा अर्जेन्टिनाले वर्ल्डकपमा ह्याट्रिक गर्ने मौका थियो। तर साउदी अरबसँग हारेर निराश बनायो आफ्नो फ्यानलाई।

निकै प्रतिस्पर्धात्मक खेल भयो फाइनल। फ्रान्सका एम्बाप्पे हिरो भए तर ताज पाउन सकेनन्। अन्तिम विश्वकप भनेकाले यो पटक सायद एम्बाप्पे पनि मेस्सीले ट्रफी लैजाउन् भन्ने पो चाहन्थे कि।

एम्बाप्पेका लागि इतिहास बनाउने टन्न समय छ अझै जुन समय मेस्सीसँग छैन। २०२२ मा जे नतिजा आयो त्यो फुटबलको इतिहासका लागि पनि सुखद हो।

सन् २०२२ को फाइनल म्याच अर्जेन्टिनाका लागि याद गरिन्छ नै। तर यो सँगै फ्रान्सका किलियाना एम्बाप्पेको जादुमय खेलका लागि समेत याद गरिने छ। पहिलो हाफमा २-० ले फुत्किसकेको निर्णय उनले दोस्रो हाफमा फिर्ता मात्र ल्याएनन्। एक्स्ट्रा टाइममै निर्णयमा पुग्न सक्ने खेललाई पेनाल्टीसम्म पुर्याए।


पहिलो हाफमा हाबी भएको अर्जेन्टिना दोस्रो हाफमा लय समात्न सफल भएन। पेनाल्टीबाट लिड गरेको अर्जेन्टिनालाई डी मारियाको गोलले निर्णायक मोडमा पूर्याए पनि दोस्रो हाफमा पेनाल्टी अनि पेनाल्टी लगत्तै एम्बाप्पेले गोल गरेर चकनाचुर बनाए।

फुटबलको मजा लिनेका लागि खेल बढो रोचक भयो। तर अर्जेन्टिना वा फ्रान्सको जितको कामना गर्नेका लागि निकै सकसपूर्ण खेल भयो।

धन्न पेनाल्टीमा फ्रान्सले २ गोल मिस गर्यो। अर्जेन्टिनाका खेलाडीले एक गोल पनि मिस नगरी निर्णायक नतिजा निकाले। यो नतिजामा खुसी हुने फ्यानमा अर्जेन्टिनी फ्यान भन्दा मेस्सी फ्यानको सङ्ख्या पक्कै बढी थियो। 

पुष ४, २०७९ सोमबार ०१:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।