सरकारमा स्पेस बनाउन भेटघाटमा रवि, एमालेसँग सफ्ट, देउवासँग नेगेटिभ 

सरकारमा स्पेस बनाउन भेटघाटमा रवि, एमालेसँग सफ्ट, देउवासँग नेगेटिभ 
तस्विरः लामिछानेकाे फेसबुक पेज

काठमाडौंः पार्टीका अधिकांश सांसद विपक्षमा बस्नुपर्ने पक्षमा रहे पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सरकारमा जाने वातावरण मिलाउन राजनीतिक भेटघाटमा व्यस्त भएका छन्।

बिहीवार प्रत्यक्षतर्फका सांसदसहितको पार्टी बैठकमा अधिकांश सांसदले प्रतिपक्षमा बस्नुपर्ने राय राखेका थिए। बैठकमा रविले सांसदहरुको रायअनुसार निर्णय हुने बताएका थिए।

सांसदहरू विपक्षमा बस्ने पक्षमा भए पनि रवि भने सरकारमा जान आतुर देखिएका छन्। उनले सरकारमा जाने वातावरण बनाउन माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र एमाले अध्यक्ष केपी ओलीसँग भेट गरिसकेका छन्।

प्रारम्भिक मत परिणाममै राष्ट्रिय स्वतन्त्र पार्टीको राम्रो नतिजा देखिएपछि सरकारमा जान पहिलो प्राथमिकता एमालेलाई दिने आन्तरिक सहमति भइसकेको पार्टीका एक नेताले उकेरालाई बताए।

‘सबै प्रत्यक्षमा एक सिट मात्र आउँछ भन्ने निष्कर्ष थियो। पार्टीले उल्लेख्य सिट आउनुमा आफ्नो नेमफेम कारण हो भन्ने परेको छ रविजीलाई,’  एक नेताले भने, ‘उनले गर्ने निर्णयलाई अन्य सांसद अनि नेताले क्रस गर्ने अवस्था छैन।’  

सरकार बन्ने अंक गणितमा माओवादी केन्द्र एमालेतिर लागे एमाले वा कांग्रेस कसको नेतृत्वमा सरकार बनाउने भन्नेमा रास्वप निर्णायक हुनेछ। माओवादी एमालेतिर गए रास्वपको साथ नभई कांग्रेसको सरकार सम्भव देखिँदैन।

प्रचण्ड आलोपालो प्रधानमन्त्रीको पक्षमा छन्। कांग्रेस आलोपालोमा सहमत भए पनि पहिला आफूले सरकारको नेतृत्व गर्ने पक्षमा देखिन्छ। 

तत्काल कांग्रेस सरकार गठनको गृहकार्य तीव्र पार्ने पक्षमा देखिएको छैन। देउवा संसदीय दलको नेता टुंग्याएपछि मात्र सहयोगी दलसँग निर्णायक छलफल गर्ने पक्षमा देखिएका छन्। 

उनको जोड वर्तमान गठबन्धनमै देखिन्छ। वर्तमान गठबन्धनबाट नपुग्ने सिट साना दलबाट पूरा गर्ने देउवाको रणनीति सार्वजनिक भइसकेको छ। तर माओवादीको पछिल्लो गतिविधीले भने उनी सशंकित देखिन्छन्।

रवि सरकारको अंक गणितमा भूमिका बढाउँदै आफ्नो नागरिकता र राहदानीको मुद्दा सेटल गराउने रणनीतिमा देखिन्छन्। दुवै विषय प्रहरीसँगै सर्वोच्च अदालतमा पुगिसकेको छ। पुस ६ मा पहिलो सुनुवाई छ सर्वोच्चमा। 

संसदीय दलको नेता बन्ने रणनीतिमा देखिएका उनले मुद्दा प्रक्रियामा प्रभाव नपारे संसदीय दलको नेता, पार्टी सभापति र सांसद तीनै पद संकटमा देखिन्छ।

एमालेका लागि माओवादी मात्र आएर पुग्दैन। रास्वपाको समर्थन भए सरकार गठनको अंक गणित सहज देखिन्छ। एमालेलाई राप्रपा र जसपाको समर्थन हुनसक्छ। राप्रपाले सरकारमा नजाने तर समर्थन दिनुपरे दिनसक्ने धारणा सार्वजनिक गरिरहेको छ।

पुष ३, २०७९ आइतबार १४:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।