संसदीय दलको निर्वाचनका लागि समिति बनाउँदै कांग्रेस, दिउँसो ३ बजे बैठक बस्दै
काठमाडौं: नेपाली कांग्रेसले पार्टीको संसदीय दलको निर्वाचनका लागि समिति बनाउने भएको छ। कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बस्ने बैठकले सो समिति गठन गर्ने भएको छ।
पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो ३ बजे बस्ने बैठकमा निर्वाचनपछिको समीक्षा, समसामयिक राजनीतिकलगायतमा पनि छलफल हुनेछ।
कांग्रेसको विधानको दफा ४० मा पार्टीको संसदीय दल गठनसम्बन्धी व्यवस्था छ। सङ्घीय संसद्मा रहेका पार्टीका सांसदहरू कांग्रेस संसदीय दलका सदस्य हुन्छन्। यसैगरी संसदीय दलमा प्रतिनिधि सभाका सदस्यले आफूमध्येबाट संसदीय दलको नेताको निर्वाचन गर्ने विधानमा व्यवस्था छ।
गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा कांग्रेसले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी कूल ८९ सिट जितेर सङ्घीय संसद्को सबैभन्दा ठूलो दल बनेको छ।
सबैभन्दा ठूलो दलको हैसियतमा कांग्रेसले आफ्नै नेतृत्त्वमा पाँच दलीय सत्ता गठबन्धनको नयाँ सरकार गठनका लागि कसरत गरिरहेको छ। साथै कांग्रेसमा संसदीय दलको नेताको निर्वाचनको तयारीको पनि सुरु भएको छ।
पुष ३, २०७९ आइतबार १३:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।