'अवतार २' हेर्दै गरेका व्यक्तिको हृदयघात भएर मृत्यु

'अवतार २' हेर्दै गरेका व्यक्तिको हृदयघात भएर मृत्यु

एजेन्सी: 'अवतार'को प्रदर्शनको १३ वर्षपछि गत शुक्रबारबाट यसको सिक्वेल आयो- 'अवतार: द वे अफ वाटर'। बहुप्रतीक्षित यस फिल्मले उल्लेखनीय व्यापार गरिरहेको छ।

तर फिल्मसँग सम्बन्धित एक अप्रिय घटना भएको छ- भारतको आन्ध्र प्रदेशमा। त्यहाँ एक व्यक्तिको फिल्म हेर्दाहेर्दा हृदयघात भएर मृत्यु भएको छ।

ती मृतकको नाम लक्ष्मीरेड्डी श्रीनू हो। उनी आफ्ना भाइ राजुसँग पेड्डापुरमको एक सिनेमा हलमा अवतार २ हेर्दै थिए।

फिल्म हेर्दाहेर्दै बीचमै श्रीनू ढलेका थिए। उनलाई तत्कालै पेड्डापुरमको सरकारी अस्पताल लगिएको थियो। तर चिकित्सकले भने उनको बाटोमै मृत्यु भएको पुष्टि गरे।

अवतार हेर्दाहेर्दै मृत्यु भएको यो पहिलो घटना भने होइन। भारतीय सञ्चारमाध्यमको रिपोर्टअनुसार यसअघि सन् २०१० मा पनि अवतारको पहिलो भाग हेर्दाहेर्दै ताइवानमा एक ४२ वर्षीय व्यक्तिको हृदयघातकै कारण मृत्यु भएको थियो।

यता अवतारको दोस्रो भागले पनि मिश्रित प्रतिक्रिया पाइरहेको छ। फिल्मको भीएफएक्स र एक्सन कोरियोग्राफीको प्रशंसा भए पनि कथा र पात्र उस्तै-उस्तै भएको तथा पहिलो भागमा जस्तो संवाद बलियो नभएको भन्दै यसको आलोचन समेत भइरहेको छ।

पुष ३, २०७९ आइतबार १२:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।