बालाजु सडक किनारमा बसेका सुकुम्बासी भन्छन्, 'कसैले घरसम्म जाने पैसा दिए पनि हामी जाने थियौँ'

बालाजु सडक किनारमा बसेका सुकुम्बासी भन्छन्, 'कसैले घरसम्म जाने पैसा दिए पनि हामी जाने थियौँ'

काठमाडौं बालाजुमा धुवाँ र धुलो, सडक किनारभरिका खाल्डाखुल्डी, जथाभावी फैलिएका बिजुलीका तारहरू, फोहोरहरू त लगभग सबैले देखेकै हो। धेरैले देखे पनि वास्ता नगरेको अर्को दृश्य पनि छ यहाँ- सडक किनारामै घर बनाएर मज्जाले बसेका परिवार।

उक्त परिवारका महिलाहरू आफ्नै समूह बनाएर गफ गरिरहेका देखिन्छन् भने पुरुषहरूको पनि त्यस्तै समूह छ। आफ्नै गफ हुन्छ। 

त्यहाँका बालकालिका चाहिँ काठमाडौंको ठिहिर्याउने चिसोमा पनि बिनाचप्पल, बिनाजुत्ता सडक किनारामा खेलिरहेका हुन्छन्।

यहाँ केही परिवार लामो समयदेखि त्रिपालमुनि रात बिताइहेका छन्। वास्तविक घर नेपालगञ्ज भनेर बताउने यो समूह कहिले मागेर गुजारा चलाउन बाध्य छ भने कहिले प्लाष्टिकका सामान बेचेर दैनिकी चलाइरहेको छ।

सोही समूहमा भेटिएकी किर्तनिया पथरकट भन्छिन्, 'यही सडक किनारामा समय बिताउन थालेको १० वर्ष बढी भयो। यहीँ विहे भयो। यहीँ छोराछोरी जन्मे तर हाम्रो दिन कहिले फेरिएन। अहिले कहिले मागेर छोराछोरीको पेट भर्छौं त कहिले उनीहरूको फोटो कसैले खिचिदिए भने उनीहरूसँग पैसा मागेर केटाकेटीको पेट भर्छौं। यति गर्दा पनि भएन भने हामी उनीहरूलाई माग्ने भाँडो बनाउँछौं।'

सडक किनारमै त्रिपाल टाँगेर बसेका रामलाल पथरकट भन्छन्, 'कहिले महानगर आएर लखेटेको लखेटै गर्छ। घरि सरसामान बोकेर यता भाग्यो, घरि उता भाग्यो। जाने ठाउँ पनि यही सडक किनारभन्दा अन्त छैन। हामीले सडक किनारामा खुला आकाशमुनि पनि आनन्दले रात बिताउन पाएका छैनौँ।'

यस्तै रामलाल बोल्दाबोल्दै अर्की अञ्जली पथरकटले आफ्नो दुःख बिसाइन्। भन्छिन, 'हामीलाई महानगरले पनि बस्न दिएको छैन। कसैले हामीलाई आफ्नो घरसम्म जाने पैसा दियो भने पनि हामी जाने थियौँ।'

काठमाडौं महानगरमा 'बालेन आतङ्क'ले तहल्का मच्चाइरहँदा यी परिवारले न त आनन्दले रात बिताउन पाएका छन् न त दिन नै कटाउन पाएका छन्। 

पुष ३, २०७९ आइतबार ११:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।