दाङको टरिगाउँ विमानस्थलबाट हप्तामा पाँच दिन उडान
काठमाडौं: दाङको तुलसीपुर–१२ स्थित टरिगाउँ विमानस्थलबाट अब हप्ताको पाँच दिन उडान हुने भएको छ। यसअघि हप्ताको तीन दिन मात्रै उडान हुने गरेको थियो।
तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीका अनुसार यसअघि बिहीबार, शुक्रबार र शनिबारमात्रै उडान हुँदै आएको थियो। पछिल्लो समय आइतबार र मङ्गलबार पनि उडान भर्ने गरेको उनले बताइन्।
हवाई इन्धन डिपोबाट इन्धन ‘रिफ्युल’ गर्न थालेपछि उडान पनि थप गरिएको उनले बताइन्। “यसअघि इन्धन डिपोबाट इन्धन हाल्न सुरु भएको थिएन, अब यहीँबाट इन्धन हाल्न थालिएको छ”, उनले भनिन्, “त्यसैले अहिले हप्तामा पाँच दिन उडान थप गरिएको छ।”
यात्रुको चाप बढेमा प्रत्येक दिन हवाई उडान भर्ने गरी तयारी गरेको उनले बताइन्।
साथै निजी हवाई सेवासँग पनि समन्वय गर्ने गरी तयारी रहेको र नियमित भएमा निजी क्षेत्रका जहाज ल्याउने गरिरहेका उनले बताइन्।
केही दिनअघिदेखि विमानस्थलमा निर्माण भएको इन्धन डिपोबाट इन्धन भर्न थालिएको हो। अहिले नेपाल वायुसेवा निगमको १९ सिटे ट्वीनअटर जहाजले सेवा दिइरहेको छ।
कुनै समय दैनिक दुई वटासम्म उडान भर्ने गरिएको भए पनि पछिल्लो समय हवाई सेवा घटेर तीन दिन मात्रै भएको थियो। यसले गर्दा यस क्षेत्रबाट हवाई सेवाका लागि भैरहवा र नेपालगञ्ज जानुपर्ने बाध्यता थियो। अब यसलाई अन्त्य गर्न थप दुई दिन हवाई सेवा थपिएको छ। यो सँगै अब पाँच दिन हवाई उडान भइरहेको छ।
यस्तै विमानस्थलको धावनमार्ग विस्तारका लागि पनि प्रक्रिया अगाडि बढेको छ। अहिलेको धावनमार्ग सात सय ५० मिटर लम्बाइ रहेको भन्दै यसलाई बढाउनका लागि इञ्जिनियरको टोली आएको उपप्रमुख चौधरीले बताइन्।
विमानस्थल विस्तारका लागि पहल गर्न तुलसीपुर उपमहानगरपालिकाले उपप्रमुख चौधरीको नेतृत्त्वमा समिति गठन गरेको छ। सोही समितिले अहिले आफ्ना गतिविधि अगाडि बढाएको छ।
पुष ३, २०७९ आइतबार ०८:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।