पहिलो विश्वकप उचाल्ने मेस्सीको तयारी, लगातार दोस्रो पटक विश्वविजेता बन्ने एम्बाप्पेको दाउ
काठमाडौं: कतारमा जारी फिफा विश्वकप आज समापन हुँदैछ। आज हुने फाइनल खेलमा उपाधिका लागि फ्रान्स र अर्जेन्टिना भिड्दैछन्।
अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा चिरपरिचित यी दुई प्रतिद्वन्द्वीबीच जुन टोलीले जिते पनि त्यसो उसको तेस्रो विश्वकप हुनेछ। अर्जेन्टिनाले यसअघि सन् १९७८ मा विश्वकपको उपाधि जितेको थियो। यस्तै सन् १९८६ मा म्याराडोनाले अर्जेन्टिनालाई दोस्रो पटक विजयी बनाएका थिए।
फ्रान्सले यसअघि सन् १९९८ र सन् २०१८ मा विश्वकपको उपाधि उचालिसकेको छ। फ्रान्स यसपटक लगातार दोस्रो विश्वकप जित्दै इतिहास बनाउने दाउमा छ। फ्रान्सका मुख्य स्ट्राइकर किलियन एम्बाप्पे २३ वर्षको उमेरमै आफ्नो करियरको दोस्रो विश्वकप उचाल्दै महान् खेलाडीको सूचीमा अटाउन आतुर छन्।
यस्तै लियोनल मेस्सी पनि विश्वविजेता बन्दै आफूमाथि तेर्सिने प्रश्नलाई सदाका लागि बन्द गराउन आतुर छन्। मेस्सीले फुटबल जगत्मा जित्न बाँकी प्रमुख उपाधि भनेकै विश्वकप मात्र हो। गत वर्ष २८ वर्षदेखिको उपाधिको खडेरी तोड्दै अर्जेन्टिनालाई मेस्सीले कोपा अमेरिका जिताएका थिए। लगत्तै युरो कप विजेता इटालीविरुद्धको फिनालिसिमा जित्दै देशलाई दोस्रो उपाधि दिलाएका थिए।
मेस्सी आज विश्वकपको आफ्नो अन्तिम खेल पनि खेल्दैछन्। त्यसैले ठूलो दबाब र जिम्मेवारी उनको काँधमा छ। आज मैदानमा यो नै उनको प्रमुख हतियार र कमजोरी हुनेछ।
फाइनल खेल नेपाली समयअनुसार राति ८:४५ बाट सुरु हुनेछ। कतारको लुसेल रङ्गशालामा खेल हुनेछ।
सन् २०१८ को विश्वकपमा यी दुई टोली भिड्दा फ्रान्सले अन्तिम १६ मा अर्जेन्टिनालाई ४-३ गोलअन्तरले हराएको थियो।
यसअघि हिजो सम्पन्न तेस्रो स्थानको लागि भएको खेलमा क्रोएसिया विजयी भएको छ। क्रोएसियाले मोरक्कोलाई २-१ गोलअन्तरले हराएको थियो।
पुष ३, २०७९ आइतबार ०७:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।