जन्मदिन विशेष : एक ट्वीटले टुटाएकाे जोन र बिपाशा बसुको ९ वर्षको प्रेम
एजेन्सी : बलिउड अभिनेता जोन अब्राहम आज ५० वर्षका भएका छन्। आफ्नो फिटनेस र स्टाइलले फ्यानको होश उडाइरहेका जोनलाई उनको जन्मदिनको अवसरमा मानिसहरूले बधाई दिइरहेका छन्।
जोनले आफ्नो करियर मोडलको रुपमा सुरू गरेपछि उनले अभिनयमा हात हालेका थिए। जोनले सन् २००३ मा फिल्म ‘जिस्म’बाट बलिउडमा डेब्यु गरेका थिए, जुन बक्स अफिसमा सुपरहिट साबित भयो।
यस फिल्ममा जोनको अपोजिट अभिनेत्री बिपाशा बसु देखिएकी थिइन् र यहीँबाट दुवैको प्रेमकथा सुरू भएको थियो। जोन अब्राहम र अभिनेत्री बिपाशा बसुको सम्बन्धले निकै चर्चा पनि पायो।
फिल्म ‘जिस्म’को सुटिङका क्रममा जोन अब्राहम र अभिनेत्री बिपाशा बसुबीचको निकटता बढ्न थाल्यो। केही दिनपछि यी दुवै स्टारले मिडियासामु खुलेर आफ्नो प्रेम व्यक्त गर्न थाले।
जोन र बिपाशा हरेक कार्यक्रम र डिनरमा सँगै देखिन्थे। केही वर्ष डेटिङ गरेपछि यो जोडी लिभ इन टुगेदरमा बस्न थालेको थियो। तर, सन् २०१४ मा जोन र बिपाशाको ब्रेकअपको खबर आयो, जसका कारण सबै अचम्ममा परेका थिए।
इन्टरटेनमेन्ट न्युजको रिपोर्टअनुसार जोन र बिपाशा बसुको ९ वर्षको सम्बन्ध जोनको एक ट्वीटका कारण बिग्रिएको थियो। वास्तवमा जोन अब्राहमले सन् २०१४ मा नयाँ वर्षको अवसरमा एउटा ट्वीट गरेका थिए जसमा उनले प्रिया रुञ्चलको नाम उल्लेख गरेका थिए।
रिपोर्टका अनुसार जब बिपाशालाई जोन र प्रियाको सम्बन्धको बारेमा थाहा भयो, तब उनी नराम्ररी टुटेकी थिइन् र त्यही भएर उनले अभिनेतासँग ब्रेकअप गरिन्।
सन् २०१४ मा जोनले प्रियासँग विवाह गरेका थिए। त्यसकाे दुई वर्षपछि बिपाशा बसुले पनि अभिनेता करणसिंह ग्रोवरसँग विवाह गरिन्।
पुष २, २०७९ शनिबार २०:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।