नेपाली कलाकारको पासपाेर्ट अवैध कम्पनीमा भेटिँदा नाइजेरियाली गिरोहसँग भेटियाे ऐश्वर्या रायको पासपोर्ट!
काठमाडौं : नेपालका कलाकार र नेताको नागरिकता र पासपोर्टका बारेमा चर्चा हुँदै गर्दा भारतमा पनि त्यस्तै घटना भएको छ।
काठमाडौंको पुतलीसडकमा रहेको सूर्य कर्पोरेसनको नेपालमा रहेको कार्यालयमा छापा मार्दा कलाकारहरूको राहदानी फेला परेको जस्तै भारतमा पनि नाइजेरियाली गिरोहका तीन सदस्य पक्राउ पर्दा चर्चित कलाकारको पासपोर्ट भेटिएको छ।
मुम्बईको नोएडा पुलिस र साइबर सेलले नाइजेरियाली गिरोहका तीन सदस्यलाई पक्राउ गर्दा उनीहरूको साथबाट ऐश्वर्या राय बच्चनको पासपोर्ट भेटिएको बलिउडलाइफले समाचार लेखेको छ।
गिरोहबाट १३ लाख र १० हजार ५ सय नक्कली अमेरिकी डलर, ११ वटा सिमकार्ड, ल्यापटप, प्रिन्टर, पेन ड्राइभ र ३ वटा कारसमेत बरामद गरिएको छ।
प्रहरीका अनुसार यो नाइजेरियन गिरोहले महंगो जडीबुटीको नाममा ठगी गर्ने गरेको थियो। यसका साथै वैवाहिक साइट र डेटिङ एप्सबाट पनि मानिसलाई लुट्ने गरेकोको समाचारमा उल्लेख छ।
हालै यो गिरोहले एक सेवानिवृत्त सेनाका कर्णेललाई करिब १ करोड ८१ लाख रूपैयाँ ठगी गरेको थियो। घटनापछि प्रहरीले यो गिरोहलाई समातेको हो।
ऐश्वर्याको राहदानी भएका गिरोहका तीन सदस्यसँग आफ्नो भने पासपोर्ट र भिसा नभएको प्रहरीले जनाएको छ। उनीहरूसँग भएको ऐश्वर्याको पासपोर्ट नक्कली भएको प्रहरीको भनाइ छ। नक्कली भए पनि उक्त पासपोर्टबाट के अपराध भयो भन्नेबारेमा भने प्रहरीले खुलाएको छैन।
ऐश्वर्या राय बच्चन पछिल्लो पटक साउथको मल्टिस्टार फिल्म ‘पोनियिन सेल्वान’मा देखिएकी थिइन्। चियान विक्रम, तृष्णा कृष्णन, जयम रवि र कार्ती स्टारर फिल्म बक्स अफिसमासमेत सुपरहिट सावित भएको थियो।
पुष २, २०७९ शनिबार २०:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।