गुल्मीबाट निर्वाचित एमाले सांसद्लाई बुटवलमा सम्मान
बुटवल : एमाले गुल्मी–रुपन्देही सम्पर्क मञ्चले गुल्मीबाट निर्वाचित एमाले सांसद्लाई सम्मान गरेको छ।
बुटवलमा शनिबार आयोजित कार्यक्रममा गुल्मीबाट एमालेको तर्फबाट उम्मेदवार बनेका सबै नेताहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै गुल्मी–१ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका प्रदीप ज्ञवालीले जनताले आफूलाई विश्वास गरेर दिएको मतको उचित कदर गर्ने बताउँदै गुल्मीको विकासमा सधैँ लाग्ने प्रतिबद्धता जनाए।
यसैगरी गुल्मी–२ बाट प्रतिनिधिसभा सांसद् बनेका गोकर्ण विष्टले जनताको विश्वासलाई आघात नपुर्याउने गरी पुनः पाँच वर्ष काम गर्ने प्रतिबद्धता जनाए। काम गर्ने क्रममा केही कमजोरी हुनसक्ने भन्दै त्यस्ता कमजोरी नदोहोर्याउन आफूलाई सचेत गराउनसमेत उनले मतदातालाई अनुरोध गरे।
अबको ५ वर्षपछि गुल्मीले भौतिक विकाससँगै मानवीय विकासमा पनि छलाङ मार्ने उनले बताए। अहिले पनि कतिपय ठाउँमा जनताहरू आधारभुत आवश्यकता पूरा गर्न धौधौ भइरहेको स्मरण गर्दै अब नयाँ नयाँ रोजगारीको सिर्जना गाउँमा गरी युवालाई विदेश पलायन हुनबाट रोक्न एमालेले नयाँ योजना अघि सारेको जिकिर गरे।
कार्यक्रममा गुल्मी–२ बाट निर्वाचित सांसद गोकर्ण विष्ट, गुल्मी क्षेत्र नं. १(१) बाट निर्वाचित चिन्तामणी पाण्डे, गुल्मी क्षेत्र नं. २(१) बाट निर्वाचित डिल्लीराज भुसाल, २(२) बाट निर्वाचित दिनेश पन्थीलाई मञ्चले सम्मान गरेको थियो।
पुष २, २०७९ शनिबार १८:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।