तीन शहीद परिवारलाई मासिक ५१ सय भत्ता
सप्तरी : राजविराज नगरपालिकाले विभिन्न आन्दोलनमा शहीद भएका नगर क्षेत्र भित्रका शहीद परिवारलाई मासिक पाँच हजार एक सय रूपैयाँ उपलब्ध गराएको छ।
आर्थिक वर्ष ०७९/८० को नगरसभाको निर्णयानुसार शहीदप्रति परिवारलाई जीवन निर्वाहका लागि मासिक पाँच हजार एक सय उपलब्ध गराउन थालिएको नगरपालिकाले जनाएको छ।
हालसम्म उक्त सहयोग राशी पाउने शहीद परिवारको सङ्ख्या तीन पुगेको छ। मासिक पाँच हजार एक सयका दरले शहीद परिवारलाई जीवन निर्वाह भत्ता प्रदान गर्ने नगरसभाको निर्णयानुसार सहयोग राशी वितरण सुरू गरिएको प्रमुख प्रशासकीय अधिकृत विनयकुमार सोनूले जानकारी दिए।
उक्त सुविधा प्राप्त गर्न शहीद परिवारले शहीद प्रमाणपत्र, नागरिकता प्रतिलिपि, नाता प्रमाणित र सम्बन्धित वडा कार्यालयको सिफारिसलगायत आवश्यक कागजात पेस गर्नुपर्ने प्रावधान राखिएको छ।
नगरसभाको पहिलो बैठकबाटै निर्णय भएबमोजिम गत साउनदेखिकै मासिकभत्ता जोडेर सहयोग प्रदान गर्न थालिएको राजविराज नगरपालिकाकी कार्यवाहक नगरप्रमुख इसरत परवीनले जानकारी दिइन्।
पुष २, २०७९ शनिबार १४:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।