बलात्कारबारेको आफ्नै विवादित भनाइप्रति सबिताले जनाइन् खेद

बलात्कारबारेको आफ्नै विवादित भनाइप्रति सबिताले जनाइन् खेद

काठमाडौँ : बलात्कार हुनु र झापड हान्नु उस्तै भन्ने पुरानो अभिव्यक्तिको आलोचना भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले आफ्नै भनाइप्रति खेद जनाएकी छिन्।

चार वर्ष अगाडि एक कार्यक्रममा उनले बलात्कार हुनु पनि महिला हिंसा र झापड हान्नु पनि महिला हिंसा भएको भन्दै दुवै उस्तै हुन् भन्ने गलत धारणा राखेकी थिइन्।

पुरानो भिडियोका क्लिप भाइरल भएसँगै बलात्कार जस्तो गम्भीर अपराधलाई झापडसँग तुलना गरी सामान्यीकरण गरेको भन्दै उनको तीव्र आलोचना भयो।

उनले ट्विट गर्दै यौन हिंसा प्रभावितलाई हीनताबोध गराउनुभन्दा उनीहरूप्रति स्वाभाविक व्यवहार गर्दा मनोवैज्ञानिक आरोग्य र सामाजिक पुनर्स्थापना सहज हुन सक्छ भन्ने आफ्नो आशय रहेको भन्दै'त्यस कुरा प्रस्ट पार्न प्रयोग गरेको उदाहरण असंवेदनशील भयो भनेर यहाँहरूले आपत्ति जनाउनुभएको कुरालाई मैले मनन गरेकी छु।'

अध्ययन र अनुभवले बुझाइ परिष्कृत भएकाले चार वर्ष अगाडिको अभिव्यक्ति अहिले प्रयोग नगर्ने भन्दै उनले 'पीडित' शब्दले पनि हिंसामा पर्नेलाई असर गर्छ भनेर 'सर्वाइवर' वा 'प्रभावित' शब्द प्रयोग गर्न थालिएको र यसरी नै हामीले आफ्नो बुझाइको दायरा फराकिलो बनाउने बताएकी छिन्।

'यहाँहरूको प्रश्नले मलाई थप संवेदनशील हुन घचघच्याएको छ' उनले ट्विटरमा लेखेकी छिन्'अभिव्यक्तिको आशयभन्दा अन्यथा अर्थ लागेर प्रभावितमाथि पर्न गएको आघातप्रति मलाई खेद छ।'

पुष २, २०७९ शनिबार १४:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।