पुसको सुरूमै २२ मेगावाट घट्यो मध्यमर्स्याङ्दीको विद्युत् उत्पादन
लमजुङ : मध्यमर्स्याङ्दी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन घट्न थालेको छ।
आयोजनामा आवश्यक पानी कम हुँदै गएपछि विद्युत् उत्पादन घट्न थालेको हो। बेसीसहर नगरपालिका–१ दलालस्थित ७० मेगावाट क्षमताको केन्द्रमा कूल क्षमताभन्दा करिब २१/२२ मेगावाट नै विद्युत् उत्पादन घटेको छ।
मर्स्याङ्दी नदीमा पानी कम हुन थालेसँगै आयोजनाको विद्युत् घट्दा यतिबेला दैनिक ४८/४९ मेगावाटको हाराहारीमा बिजुली उत्पादन भइरहेको केन्द्रप्रमुख पवन बस्नेतले बताए।
अझै दुई महिनासम्म निरन्तर बिजुली उत्पादन घट्दै जाने उनको भनाइ छ। आयोजना ३५/३५ मेगावाट क्षमताको दुईवटा टर्बाइन गरी ७० मेगावाट क्षमताको आयोजना हो।
आगामी फागुन महिनाको अन्तिमसम्म पुग्दा विद्युत् उत्पादन निकै कम हुने आयोजनाले जनाएको छ । विगतको वर्षहरूमा विद्युत् उत्पादन घटेर २६ मेगावाटसम्म पुग्ने गरेको थियो।
सन् २००० मा निर्माण कार्य सुरु भई सन् २००८ मा निर्माण कार्य सम्पन्न भएलगत्तै आयोजनाबाट विद्युत् उत्पादन थालेको थियो। २७ अर्ब २० करोड रूपैयाँ लागतमा आयोजना निर्माण भएको थियो। यसबाहेक जिल्लामा विद्युत् उत्पादन थालेका करिब आधा दर्जन आयोजनाहरूमा समेत बिजुली उत्पादन घट्ने क्रममा रहेको छ।
त्यस्तै, २७ मेगावाट क्षमताको दोर्दी जलविद्युत् आयोजना, २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ आयोजना, पाँच मेगावाटको सिउरी, ४.४ मेगावाटको राँधी, तीन मेगावाटको मिदिम करापु र दुई मेगावाटको छ्याङ्दी आयोजनाबाट पनि बिजुली उत्पादन कम हुने क्रममा रहेको बताइएको छ।
पुष २, २०७९ शनिबार १४:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।