मङ्सिरमा मात्रै ६० सवारी चालक अनुमतिपत्र निलम्बनका लागि पठाइयो, एकै व्यक्ति ४४ पटक कारबाहीमा

मङ्सिरमा मात्रै ६० सवारी चालक अनुमतिपत्र निलम्बनका लागि पठाइयो, एकै व्यक्ति ४४ पटक कारबाहीमा

काठमाडौं: ट्राफिक प्रहरीले मङ्सिर महिनामा ६० वटा सवारी चालक अनुमतिपत्र निलम्बनका लागि यातायात व्यवस्था विभाग पठाएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम चालकले पालना गर्नुपर्ने सर्त तथा नियम पाँच (५) पटकभन्दा बढी उल्लङ्घन गरेको पाइएकोले सोही ऐनको परिच्छेद ४ को दफा ६० बमोजिम सवारी चालक अनुमतिपत्र निलम्बनका लागि यातायात व्यवस्था विभाग पठाएको हो।

कार्यालयका प्रवक्ता, प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले पाँच पटकभन्दा बढी सवारी नियम उलङ्घन गरेकाले यातायात व्यवस्था ऐन, २०४९ अनुसार कारबाहीका लागि यातायात व्यवस्था विभाग पठाइएको जानकारी दिए। उनका अनुसार सबैभन्दा धेरै कारबाही पर्नेमा एक जना ४४ पटक त्यसपछि क्रमशः एक जना ३५ पटक, तीन जना २४ पटक, एक जना १४ पटक, सात जना १२ पटक, दुई जना सात पटक, र ४५ जना छ पटक पक्राउ परेका सवारी चालक रहेका छन्।

पक्राउ परेकाले सवारी तथा यातायात व्यवस्था ऐनको दफा १६४ को उपदफा १ बमोजिम कसूर गरेको पाइएको प्रवक्ता भट्टले बताए। ट्राफिक नियम उल्लङ्घन गरिरहने चालकबाट नै सवारी दुर्घटना बढी हुने गरेको सो कार्यालयले जनाएको छ।

पुष २, २०७९ शनिबार १३:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।