लुम्बिनीमा दुई महिनामा ६१ लाख भेटी सङ्कलन, छिट्टै भरिन्छ दानपेटिका

लुम्बिनीमा दुई महिनामा ६१ लाख भेटी सङ्कलन, छिट्टै भरिन्छ दानपेटिका
तस्बिर: लुम्बिनीमा भक्तजन तथा दर्शनार्थीले चढाएको भेटी गन्दै

बुटवल: गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा दानबापत दुई महिनामा ६१ लाख २० हजार ८०६ रुपैयाँ संकलन भएको छ। लुम्बिनी विकास कोषले पाँच दिन लगाएर शुक्रबार सकाएको दानपेटिकाको भेटी गणनामा उक्त रकम सङ्कलन भएको हो।

आन्तरिक र बाह्य पर्यटकको संख्या वृद्धि भएसँगै मायादेवी मन्दिरमा राखिएका दानपेटिका छिट्टै भरिन थालेको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण)ले जानकारी दिए।

यसअघि तीन महिनामा एक पटक गणना गरिने गर पनि यसपटक दानपेटिका छिट्टै भरिएकाले दुई महिना नपुग्दै गणना सुरु गरिएको हो। गत असोज ३० गते गरिएको भेटिगणनामा २७ लाख १८ हजार दानबापत रकम सङ्कलन भएको थियो।

कोरोना महामारीपछि थलिएको पर्यटन क्षेत्र विस्तारै चलायमान हुन थालेपछि लुम्बिनी भ्रमण गर्ने पर्यटकको संख्या वृद्धि हुन थालेको छ।

अहिले लुम्बिनी भ्रमणको सिजन समेत सुरु भएकाले छिमेकी देश भारतसहित थाइल्याण्ड, म्यानमार, भियतनाम र युरोपबाट समेत दर्शनार्थी आउने क्रम बढेको कोषाध्यक्ष भट्टराईले बताए। लुम्बिनी विकास कोषको सूचना शाखाका अनुसार नोभेम्बर महिनामा मात्रै आन्तरिक अर्थात् ८२ हजार २०५ नेपालीले भ्रमण गरेका छन्।

यस्तै नोभेम्बर महिनामा मात्रै भारतबाट ३८ हजार ६८९, अन्य मुलुकबाट ७ हजार ४७३ जनाले लुम्बिनीमा पाइला टेकेका छन्।

नोभेम्बर महिनासम्म पाँच लाख ४५ हजार नेपालीले लुम्बिनी भ्रमण गरेकोमा भारतबाट एक लाख ८८ हजार पर्यटक भित्रिएको सूचना शाखाको तथ्याङ्कमा उल्लेख छ।

भियतनाम, म्यानमार, थाइल्याण्ड, श्रीलङ्का लगायतका ८४ मुलुकबाट एक लाख ८१ हजारले लुम्बिनी भ्रमण गरेका छन्।

पुष २, २०७९ शनिबार ०८:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।