मलेसियामा पहिरो : ४ बालबालिकासँगै २१ जनाको मृत्यु

मलेसियामा पहिरो : ४ बालबालिकासँगै २१ जनाको मृत्यु
Photo: EPA/FAZRY ISMAIL

एजेन्सी : मलेसियाको सेलान्गोर राज्यमा पहिरोमा परी मृत्यु हुनेको संख्या कम्तीमा २१ पुगेको छ। मारिनेमा चार बालबालिका पनि छन्।

घटना सेलाङ्गोरको बाटाङ काली शहरमा रहेको शिविर नजिक भएको हो। शुक्रबार बिहान ३ बजे परिवार पालभित्र सुतिरहेका बेला पहिरो खसेको हो।

शुक्रबारदेखि माटोमुनि फसेकाहरूको खोजी कार्य तीव्र गतिमा भइरहेको छ। शिविरमा रातभर बस्न ५१ वयस्क र ३० बालबालिकाले नाम दर्ता गराएको शिविरका प्रबन्धकले बताए।

मलेसियाली प्रशासनलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यममा ७०० अधिकारी राहत र उद्धार कार्यमा संलग्न रहेको र १४ जना अझै बेपत्ता रहेको खबर आएको छ।

न्यु स्ट्रेट्स टाइम्सको रिपोर्ट अनुसार २० प्राथमिक विद्यालयका शिक्षक र उनीहरूका परिवार शिविरमा बसिरहेका थिए।

पहिरोका कारण शिविर स्थलको ४ लाख ५० हजार वर्ग मिटर जमिन बगेको सरकारी अधिकारीहरुले बताएका छन्। स्थानीय सरकार विकास मन्त्री इङ्गाकोर मिङले यो शिविर गैरकानुनी रूपमा चलिरहेको बताएका छन्।

उनले नदी, खोला र पहाड नजिक बनेका सबै ‘उच्च जोखिम’ शिविर तत्काल प्रभावबाट सात दिनका लागि बन्द गर्न निर्देशन दिएका छन्।

उपप्रधानमन्त्री जाहिद हमीदीले आगामी दिनमा मौसम बिग्रन सक्ने भएकाले यस चेतावनीलाई गम्भीरतापूर्वक पालना गर्नुपर्ने बताउनुभएको छ।

पुष १, २०७९ शुक्रबार २१:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।