२०२६ को विश्वकपको ढाँचामा परिवर्तन गर्दै फिफा, यी कुरा परिवर्तन हुनसक्छन्

२०२६ को विश्वकपको ढाँचामा परिवर्तन गर्दै फिफा, यी कुरा परिवर्तन हुनसक्छन्

काठमाडौं : विश्व फुटबलको सर्वोच्च संस्था फिफाले सन् २०२६ को संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडामा हुने विश्वकपको ढाँचामा पुनर्विचार गर्ने भएको छ।

फिफा काउन्सिलको बैठकपछि कतारमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष जियानी इन्फान्टिनोले प्रतियोगिताको लागि टोलीहरू ३२ बाट बढाएर ४८ हुने जानकारी दिए।

४८ देशको सहभागिता हुने भएपछि तीन–तीन देशको १६ समूहमा विभाजन गरेर त्यसबाट शीर्ष दुई टिमलाई अन्तिम ३२ मा समावेश गरिने फिफाको तयारी छ।

कतार विश्वकपमा भएको चार टिमको समूह कत्तिको सफल भयो भन्ने बारेमा पछि समीक्षा गरिने उनले बताए।

उनले भने, ‘चार टिमको समूह एकदमै अविश्वसनीय भएको छ,’ इन्फान्टिनोले भने, ‘अन्तिम खेलको अन्तिम मिनेटसम्म खेलको रोमाञ्चकता कायमै रहन्छ।’

इन्फान्टिनोले आगामी विश्वकपको ढाँचामा परिवर्तन गर्नुपर्ने नभए पनि कम्तीमा छलफल भए पनि गर्नुपर्ने बताए। उनले अर्को बैठकमा यसलाई अजेण्डा बनाउनेसमेत स्पष्ट पारे।

पत्रकार सम्मेलनमा उनले २०२२ को फिफा विश्वकप अहिलेसम्मको ‘सर्वश्रेष्ठ’ विश्वकप भएको बताए।

तेस्रो स्थानको प्लेअफ र फाइनलमा खेलअघिसम्म ३२ लाख ७० हजार दर्शकले विश्वकप हेरिसकेको उनले बताए। सन् २०१८ मा रुसमा भएको विश्वकपमा ३३ लाख दर्शकले रंगशालामै पुगेर हेरेका थिए।

‘विश्वकप उत्कृष्ट बनाउनका लागि सहयोग गर्ने सम्पूर्ण स्वयंसेवकहरूलाई फिफा धन्यवाद दिन चाहन्छ,’ उनले भने, ‘खेल कुनै पनि दुर्घटनाविना खेलिएको छ यसले झन् धेरै रमाइलो भएको छ।’

इन्फान्टिनोले अफ्रिकी टोली मोरक्को पहिलोपटक सेमिफाइनलमा पुगेको भन्दै फुटबल विश्वव्यापी खेल भइरहेको बताए। पहिलोपटक महिला रेफ्रीले विश्वकप खेलाएको प्रसङ्ग पनि उनले सम्झिए।

पुष १, २०७९ शुक्रबार २०:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।