पूर्वराष्ट्रपतिलाई डेढ वर्ष हिरासतमा राख्न आदेश

पूर्वराष्ट्रपतिलाई डेढ वर्ष हिरासतमा राख्न आदेश

एजेन्सी : पेरुको सर्वोच्च अदालतले भूतपूर्व राष्ट्रपति पेड्रो कास्टिलोलाई डेढ वर्षसम्म हिरासतमा राख्न आदेश दिएको छ। 

राज्यद्रोह र षड्यन्त्रको अभियोगमा गत साता पक्राउ परेका पूर्वराष्ट्रपति कास्टिलोलाई अदालतले डेढ वर्ष हिरासतमा राख्न आदेश दिएको हो।

कास्टिलोलाई कम्तीमा १० वर्षको कारावासको सजायको माग गरिएको थियो।

उनलाई पक्राउ गरेपछि देशभर आन्दोलनले अशान्ति फैलाएको छ। पूर्वराष्ट्रपतिका समर्थकले आयोजना गरेको आम हडताल र आन्दोलनका क्रममा १४ जनाको मृत्यु भएको छ।

प्रहरी र सर्वसाधारण गरी कयौं घाइते भएका छन्। घाइते चालीस जनालाई अस्पताल भर्ना गरिएको छ।

देशव्यापी आन्दोलनका कारण दैनिक दुई करोड ६० लाख अमेरिकी डलर बराबरको क्षति भएको अर्थ मन्त्रालयले जनाएको छ।

राष्ट्रपति डिना बोल्वार्टेले आन्दोलनकारीलाई वार्तामा आउन आग्रह गर्दै शान्ति, सहमति र भ्रातृत्वका निम्ति आह्वान गरेका छन्। 

आन्दोलनले उग्ररूप लिएपछि एक महिनाका लागि देशभर आपत्काल लागू गरिएको छ। राजधानी लिमामा ‘कर्फ्यू’ लगाइएको छ।

आन्दोलनकारीले कास्टिलोलाई हिरासतमुक्त गर्नुपर्ने, राष्ट्रपति बोल्वार्टेले राजीनामा दिनुपर्ने तथा तत्काल निर्वाचनको मिति तोकिनुपर्ने माग गरेका छन्।

पुष १, २०७९ शुक्रबार १९:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।