साप्ताहिक शेयर समीक्षा : एकुमुलेसन चरणमा बजार, लगानीकर्तामा अन्योल
काठमाडाैं : लगानीकर्ताहरू अन्योलमा देखिँदा याे साता नेप्से केही ओरालाे झरेर बन्द भएकाे छ। बैंकहरूले पुस महिनाका लागि ब्याजदर घटाउँछन् भन्ने अपेक्षामा रहेका लगानीकर्ताहरू, ब्याजदर नघट्ने भएपछि अन्योलमा पुगेका हुन्।
यद्यपि पछिल्ला दिनहरूमा प्रणालीमा तरलता सहज हुँदै गएको छ। सीडी रेसियो र अन्तर बैंक ब्याजदर पनि घटिरहेका छन्। यी सकारात्मक खबरका बावजुद पनि बजारले तत्काल पोजेटिभ रेस्पोन्स गरिहालेको छैन। यसलाई सेयर एकुमुलेसनको चरण भएको जानकारहरू बताउँछन्।
यस चरणमा सूचकमा खासै ठूलो अंकको उतारचढाव हुँदैन। अनुभवी लगानीकर्ताहरूले प्रत्येक दिन विस्तारै र मन्द चालमा सेयरहरू खरिद गरिरहेका हुन सक्छन्। यसकारण बजारमा न त ठूलो अंकको सुधार आउँछ न ठूलो अंकको गिरावट नै।
एकुमुलेसन फेज सकिएपछि मात्र बजारले बुल रन समाउनसक्ने विश्लेषकहरू बताउँछन्। तर यो चरण कति दिनसम्म रहन्छ भनेर यकिन गर्न भने नसकिने उनीहरूको भनाइ छ।
समग्रमा अघिल्लो साता १९१७.२८ मा बन्द भएको नेप्से परिसूचक यो साता ३४.६७ अंकले घटेर १८८२.६१ विन्दुमा बन्द भएको छ।
साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ३१.९६ ले घटेर १८८५.३१ मा ओर्लिएको थियो। यस दिन कारोबार रकम एक करोड ९ लाखमा सीमित भएको थियो।
सोमबार भने नेप्से १६.९६ बिन्दुले माथि उक्लिएर १९०२.२७ मा पुगेको थियो। यस दिन करीब एक करोड उन्न्याइस लाख बराबरको कारोबार भएर कारोबार रकममा पनि झिनो वृद्धि भएको थियो।
तेस्रो कारोबार दिन मंगलबार नेप्से झिनो अंकले ओरालो लाग्यो। सो दिन २.५६ अंकले घटेर नेप्से परिसूचक १८८८.८२ मा पुगेर रोकिएको थियो। कारोबार रकम पनि घटेर याे दिन ७७ करोडमा झर्याे।
लगानीकर्ताहरुको अन्योलका कारण बुधबार पनि नेप्से झिनो अंकले घटेर बन्द भयो। यसदिन नेप्से परिसूचक २.६२ अंकले घटेर १८९७.०८ विन्दुमा पुग्यो।
नेप्सेसँगै बुधबार कारोबार रकम पनि सामान्य घटेको थियो। अघिल्लो कारोबार दिन ७७ करोडभन्दा बढिको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ७२ करोड ७८ लाख ७७ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो।
काराेबार हुने अन्तिम दिन शुक्रबार नेप्से सूचक बिहीबार १४.४८ अंकले घटेर १८८२.६१ विन्दुमा आइपुग्यो। तथापि यसदिन २ कम्पनीमा सकारात्मक सर्किट लागेको थियो। यसदिन करीब ९३ करोड ५२ लाखको सेयर कारोबार भएको थियो।
यसले सेयर बजार फेरि १८ सयको लाइनमा हिँड्न थालेको देखिन्छ। बजार लामो समयदेखि १८ सयदेखि २ हजारको बीचमा घुमिरहेको छ। करिब २ सय अंकलाई आधार बनाएर नेप्से तलमाथि गरिरहेको हो।
समग्रमा बजार साइडवेजमा रहेको विश्लेषण भइरहेको छ। यसलाई पुसमा बैंकहरूले ब्याजदर नघटाई यथावत् राखेपछि बजारको सुस्त गतिमा सुधार आउन नसकेको अवस्था मानिएको छ।
पुष १, २०७९ शुक्रबार १९:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।