नागरिकता र पासपोर्टबारे बाेले रवि, आफ्नै निर्णयबाट पछि हटे

नागरिकता र पासपोर्टबारे बाेले रवि, आफ्नै निर्णयबाट पछि हटे

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकता र पासपाेर्ट विवादका कारण पार्टीलाई हानी पुर्याउने काम नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

शुक्रबार पार्टीबाट प्रत्यक्ष निर्वाचित सात सांसदहरूको बैठकमा उनले नागरिकता र पासपोर्टको बारेमा सर्वोच्च अदालत लगायतका राज्यका निकायहरूमा दर्ता भएको मुद्दा आफ्नो व्यक्तिगत विषय भएको भन्दै पार्टीलाई हानी पुग्ने अवस्था आउन नदिने प्रतिबद्धता व्यक्त गरेका हुन्।

लामिछानेले अवैध नागरिकताको आडमा पासपोर्ट लिएको पार्टी सभापति र सांसद्को सपथग्रहण नगराउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भइसकेको छ।

युवराज पौडेल सफल र अधिवक्ता रविराज बसौला र नानीबाबु खत्रीले बुधबार सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट दर्ता गरेका हुन्। दुवै रिटको सुनुवाइका लागि पुस ६ गते इजलास तोकिएको छ।

शुक्रबारको बैठकमा सभापति छामिछानेकाे भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘नागरिकता र पासपोर्टको विषय अब अदालतमा प्रवेश गरिसक्यो, यो मेरो व्यक्तिगत कानूनी लडाइँ हो, याे विषयलाई लिएर पार्टीलाई हानी पुर्याउँदिन।’

सर्वसम्मत संसदीय दलको नेता !
यसैबीच बैठकले सर्वसम्मत रूपमा पार्टीको संसदीय दलको नेतामा सभापति लामिछानेलाई चयन गर्ने भएको छ।

जानकार स्राेतका अनुसार प्रत्यक्षतर्फबाट सांसद बनेका सात सांसदले सभापति लामिछानेलाई नै संसदीय दलको नेतामा चयन गर्ने निर्णय गरेको हो। बैठकमा १३ जना समानुपातिक सांसदलाई भने बोलाइएको थिएन।

प्रत्यक्षतर्फ सात सिट जितेको स्वतन्त्र पार्टीले समानुपातिकमा १३ सिट जितेको थियो। १३ जनाको सिट भागबण्डामासमेत पार्टीभित्र विवाद उत्पन्न भएको थियो। पार्टीमा सक्रिय नेता गणेश कार्कीले समानुपातिकमा सांसद चयन गरेकोप्रति असन्तुष्टि व्यक्त गरेका थिए।

सरकारमा नजान सुझाव
यसैबीच बैठकमा सहभागी सांसदहरूले अहिले नै सरकारमा जान नहुने सुझाव दिएका छन्।

पार्टी सभापति लामिछानेले सरकारमा जानेबारे मिडियाबाट बोलेपछि सांसद्हरू अहिले नै सरकारमा जान नहुने सुझाव दिएका हुन्।

सरकारमा जाँदा त्यसले पार्टीको भविष्यलाई नै अप्ठ्यारो पर्ने र जनताकाे दृष्टिमा पुरानै नेताकाे छवि दाेहाेरिने भन्दै भन्दै बाहिरै बसेर खबरदारी गर्नुपर्नेमा जोड दिए।

जवाफमा सभापति लामिछानेले सबैको सुझाव र सल्लाहकै आधारमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

पार्टीभित्र हरेक सम्भावना र राजनीतिक विषयको बहस हुनु आवश्यक भएको भन्दै उनले निर्णय सबैको सल्लाह र सुझावका आधारमा हुने स्पष्ट पारे।

रविको नागरिकता प्रकरण
उकेराले पहिलो पटक लामिछानेले अमेरिकी नागरिकको कानूनी हक त्याग्ने प्रक्रिया अगाडि बढाए पनि नेपालमा निष्क्रिय भइसकेको उनको नाममा जारी २०५० सालको नागरिकता नै प्रयोग गरिरहेको प्रमाणसहित सार्वजनिक गरेको थियो।

उनले निर्वाचन आयोगमा पेस गरेको नागरिकता अनि आयोगले सोधेको स्पष्टीकरणको जवाफमा समेत २०५० सालमा लिएको नागरिकता निष्क्रिय भइसके पनि पुन प्राप्तिका लागि अपनाउनुपर्ने कानूनी प्रक्रिया पूरा नगरेको स्वीकार गरेका छन्।

उनले नागरिकता ऐन र नियमावलीमा रहेको विदेशी नागरिक बनेपछि सम्बन्धित देशको नेपाली दूतावास वा नेपालस्थित सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा जानकारी दिनुपर्ने कानुनी दायित्व अनुसार आफूले निवेदन नदिएकाले आफ्नो पुरानै नागरिकता सक्रिय रहेकाले पुनः नागरिकता प्राप्तिको प्रक्रियामै जानु नपर्ने तर्क गरेका थिए।

नागरिकता मात्रै हैन रविले सन् २०१४ मा अमेरिकी नागरिकको रूपमा अमेरिकी राहदानी लिएर नेपाल आएपछि राहदानी विभागलाई झुक्क्याएर सन् २०१५ मा नेपाली राहदानी प्रयोग गरेको उकेराले प्रमाणसहित सार्वजनिक गरेको थियो।

उनले सन् २०१८ मा मात्रै अमेरिकी राहदानी र अमेरिकी नागरिकको कानूनी हक सरेन्डर गरेका हुन्। उनको निवेदनअनुसार अमेरिकी राहदानी र अमेरिकी नागरिकको कानूनी हक खारेज भइसकेको छ।

तर, सन् २०१५ देखि सन् २०१८ सम्म उनले अमेरिका र नेपाल दुवै देशको राहदानी प्रयोग गरेर अध्यागमन ऐनको उलङ्घन गरेको पुष्टि भइसकेको छ।

उता अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीले समेत रविको नागरिकता र राहदानीबारे अनुसन्धान गरिरहेको छ। आयोगले रविको नागरिकता र राहदानीबारे गृह र परराष्ट्र मन्त्रालयमा पत्राचार गरेर जानकारी मागेको छ।

गृहमा परेको उजुरीको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंले उनको नागरिकता र राहदानीबारे अनुसन्धान गरिरहेको छ।

रवि प्रकरणमा उकेराको फलोअप

UKERAA EXCLUSIVE : अवैध भनिएको रवीको नागरिकता यही हो, प्रशासनको कार्यालयमा फायल नै गायब

आरोप असत्य हो भने ब्युँतिएको नागरिकता किन सार्वजनिक गर्दैनन् रवी!, किन फैलाउँदैछन् भ्रम ?

नागरिकता ब्युँताउने प्रक्रिया पुरा नगर्दा रवीको कानुनी हैसियत 'अनागरिक'

चितवन- २ मा उपनिर्वाचन कि रविलाई सफाई ?

रविको नागरिकता विवादमा प्रवेशै नगरी उजुरी नै निष्क्रिय बनायो आयोगले, अब अदालत जानुपर्ने

रविले प्रमाण पत्र लिँदै भने ' देश हितका लागि सरकार बनाउन गठबन्धन गर्न परे भन्नुहोला, तयार छौँ'

रविको नागरिकताबारे छानबिन गर्न गृहमा निवेदन, प्रमाण हेरेर अगाडि बढाउने तयारी

रवि लामिछानेलाई तत्काल पक्राउको माग गर्दै गृहमा उजुरी गर्ने युवराज को हुन् ? 

रविको अर्को 'अपराध'को खुलासा : अमेरिकी पासपोर्ट हुँदाहुँदै झुक्याएर निकाले नेपाली पासपोर्ट

रविको नागरिकताबारे उजुरी दिने युवराज भन्छन्' निर्वाचन आयोगले उजुरी ढिसमिस पार्यो, अब अदालत जान्छु'

स्वतन्त्र पार्टीको नेता अरनिकोले पहिलो बैठकमै रविलाई सोधेका थिए'तपाई जेल गए पार्टी के हुन्छ?

रवि लामिछानेसँग ठ्याक्कै मिल्ने भारतको एक मुद्दा जसले नेपाली चेली किरण अनागरिक बनिन् , निर्वाचन बदर भो

रविको नागरिकताबारे प्रहरीले छानबिन गरेपछि पार्टीका नेताहरू कानुनी परामर्शमा

रविको निष्क्रिय नागरिकता र झुक्क्याएर लिएको राहदानीबारे छानबिन गर्दै अख्तियार, गृह र परराष्ट्रमा पठायो पत्र

नागरिकता अवैध हो भन्ने 'रविले नै पुष्टि गरे'

पुष १, २०७९ शुक्रबार १७:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।