रुपन्देहीका स्थानीय तहले पनि थाले अतिक्रमित संरचना भत्काउन

रुपन्देहीका स्थानीय तहले पनि थाले अतिक्रमित संरचना भत्काउन

बुटवलः रुपन्देहीका स्थानीय तहले सहर सुन्दर बनाउनकाे लागि अतिक्रमण गरेर निर्माण गरिएका संरचनाहररू भत्काउन थालेका छन्। त्यस्तै, फुटपाथ ओगटेर भइरहेका व्यापारमा पनि रोक लगाएका छन्।

स्थानीय तहकाे याे कदमले सहरको सुन्दरता बढ्ने र उपभोक्तालाई हिँडडुलमा पनि सहजता हुने विश्वास गरिएको छ। अतिक्रमित संरचनाका कारण सडकमा अवरोध पुगिरहेको थियो।

अहिले सिद्धार्थ नगरपालिकाले त्यस्ता संरचना भत्काउन सुरु गरेको छ। यस कार्यको स्थानीय बासिन्दाले प्रशंसा गरेका छन्।

नगरपालिकाले फुटपाथ खाली गराउन नगर प्रहरी परिचालन गरेको छ। फुटपाथ ओगटेर कारोबार नगर्न सबैलाई आग्रह गरिएको नगर प्रहरी प्रमुख मनोज मल्लले जानकारी दिए।

‘फुटपाथ ओगट्नेलाई सचेत गराउँदैछौं,’ उनले भने, ‘अटेर गरेमा सामग्री नियन्त्रणमा लिने गरेका छौं।’ नियन्त्रणमा लिएको सामग्री व्यवसायीले लिन आएमा सम्बन्धित व्यवसायको कागजी विवरणसमेत क्रसचेक गर्ने गरेको उनले बताए।

सिद्धार्थनगरका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले कागजपत्रमा कैफियत देखिएको अवस्थामा कानुनबमोजिम कारबाही प्रक्रियामा लगिने बताए। व्यवसायसम्बन्धी सबै कागजपत्र दुरुस्त भएको अवस्थामा अतिक्रमणपछि नियन्त्रणमा लिइएको सामग्री सचेत गराएर फिर्ता दिने गरिएको उनले सुनाए।

फुटपाथ अतिक्रमण हटाउने अभियानमा सिद्धार्थनगरमा मात्रै अहिलेसम्म झन्डै ६० हजार रुपैयाँ संकलन भएको छ।

नगरपालिकाले आइतबार वडा नम्बर १, नौडिहवा गाउँमा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका दुई वटा घरमा डोजर चलाएर भत्काएको थियो। सार्वजनिक जग्गा अतिक्रमण नगर्न र गरेको भए तत्काल हटाउन भन्दै नगरपालिकाले पटक–पटक सार्वजनिक सूचना जारी गरे पनि अटेरी गरेपछि डाेजर चलाएको जनाएको छ।

सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना भत्काउनका लागि घरधनीको नाममा दुई पटक ३५ दिने सूचना जारी गरेर जानकारी गराए पनि अटेर गरेपछि निमयानुसार अवैध संरचना भत्काइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले बताए।

नगरपालिका क्षेत्रमा चाप बढ्दै गएको र सार्वजनिक जग्गाको अभाव भइरहेको अवस्थामा सार्वजनिक जग्गाको खोजी गरी उपयोग गर्नका लागि अभियान सुरु गरिएको उनले बताए।

नगरपालिकाले बुधबारमात्रै फेरि सार्वजनिक ३५ दिनको सार्वजनिक सूचना निकालेर सरकारी सम्पत्ति मिच्ने, हानी नोकसानी गर्ने र फुटपाथ अतिक्रमण गर्ने काम तत्काल रोक्न अनुरोध गरेको छ। ३५ दिने भित्र फुटपाथ नहटाए र मिचिएको जग्गा खाली नगरे कानूनअनुसार गर्ने चेतावनी सिद्धार्थनगरले दिएको छ।

बुटवल उपमहानगरपालिकाले नगर क्षेत्रलाई व्यवस्थित बनाउन मंगलबारदेखि मुख्य राजमार्ग क्षेत्र, अत्यावश्यक सेवा क्षेत्र, मुख्य चोक, ठेला, ई–रिक्सा व्यवस्थापनको काम सुरु गरेको छ।

निर्वाचन आचारसंहिता सकिएलगत्तै बुटवल नगरलाई सफा, सुन्दर र स्वच्छ बनाउने काम सुरु गरिएको नगर प्रमुख खेलराज पाण्डेयले बताए। उनले सडकको क्षेत्राधिकार मिचेर गर्ने व्यवसाय, पार्किङ, निर्माण सामग्री र सडक फुटपाथमा अवरोध हुने बस्तु नराख्न आग्रह गर्दै अटेर गरिए कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाउने जनाए।

‘हामीले निर्वाचन आचारसंहिताका कारण चाहेर पनि केही काम गर्न सकेका थिएनौं,’ नगर प्रमुख पाण्डेयले भने, ‘बुटवल नगरलाई व्यवस्थित बनाउनका लागि सबैले उत्तिकै भूमिका निर्वाह गर्न जरुरी छ।’

अनधिकृत रूपमा सडक क्षेत्रमा ठेला राख्ने, ई–रिक्सा पार्किङ गरेर सवारी जाम गर्ने, एम्बुलेन्स आवागमनमा समेत अवरोध पुर्याउने, सडकमै ठेला लगाएर अखाद्य मासु र मदिराको व्यापार गर्ने व्यवसायीलाई पनि कडा कारबाही गर्ने निर्णय भएको नगर प्रमुख पाण्डेयले बताए।

पुष १, २०७९ शुक्रबार १७:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।