मेस्सी र रोनाल्डोमा को महान् खेलाडी? सायद विश्वकप फाइनलले तय गर्नेछ

मेस्सी र रोनाल्डोमा को महान् खेलाडी? सायद विश्वकप फाइनलले तय गर्नेछ

एजेन्सी : जब फुटबलको कुरो आउँछ, हरेक पुस्तामा एक त्यस्ता खेलाडी जन्मने गर्छन्। जसलाई फुटबल इतिहासकै सर्वोत्कृष्ट खेलाडी मध्येका एक मान्ने गरिन्छ। कुनै समयमा विश्व फुटबलमा पेलेको राज थियो, त्यसपछि म्याराडोना आए।

पछिल्लो दुई दशकमा भने फुटबलमा लियोनल मेस्सी र क्रिष्टयानो रोनाल्डो गरी दुई खेलाडीको वर्चश्व रह्याे। जब सन् २०११ मा मेस्सी विश्वका ‘एक सय प्रभावशाली व्यक्ति’ को सूचीमा परे, फ्रेन्च लिजेन्ड तथा बार्सिलोनामा छँदा मेस्सीका पूर्व सहकर्मी थियरी हेनरीले उनलाई ‘मैदानका भगवान’ को संज्ञा दिएका थिए।

यसपछि जब रोनाल्डो पनि सन् २०१४ मा यसै सूचीमा परे। मैदानमा उनले देखाउने प्रतिस्पर्धी खेलको कारण पेलेले रोनाल्डोलाई आफ्नो टिममेट बनाउन चाहेको बताएका थिए।

यी दुवैले फुटबलको अनगिन्ती पुराना कीर्तिमान तोडेका छन्। आफ्नो र टिमको लागि विश्व फुटबलको प्रतिष्ठित उपाधि जितेका छन्। यी दुवैले फुटबलमा हासिल गर्न सक्नेसम्मको सबै उपाधि र सफलता हात पारिसकेका छन्। तर विश्वकप बाहेक।

गत शनिबार कतारमा जारी विश्वकपको क्वाटरफाइनलमा पोर्चुगल मोरक्कोसँग पराजित भएपछि रोनाल्डोको विश्वकपको सपना समाप्त भयो। उनी आफैँले सामाजिक सञ्जालमार्फत् अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको संकेत गरिसकेका छन्।

यता मेस्सीले पनि यो विश्वकपको फाइनल खेल उनको अन्तिम अन्तर्राष्ट्रिय खेल हुने बताइसकेका छन्। तर, जारी विश्वकपमा पाँच गोल गरिसकेका मेस्सीसँग भने आइतबार हुने फ्रान्ससँगको फाइनल खेलमा रोनाल्डो र उनीबीचको महान् खेलाडीको बहसमा अन्तिम प्रमाण दिने मौका छ।

विश्वकपको उपाधिले सायद यी दुई मध्ये को महान् खेलाडी भन्ने छुट्टाइदिनेछ।

तथ्याङ्कमामा रोनाल्डो भर्सेस् मेस्सी

३७ वर्षीय रोनाल्डोले मेस्सीको तुलनामा क्लब र देशका लागि खेल पनि धेरै खेलेका छन् भने गोल पनि धेरै गरेका छन्।

मेस्सीले हालसम्म एक हजार दुई खेल खेल्दा ७९१ गोल गर्दा उता रोनाल्डोको एक हजार १४५ खेलमा ८१९ गोल गरिसकेका छन्। अन्तर्राष्ट्रिय गोल संख्या पनि मेस्सीको भन्दा रोनाल्डोको नै बढि छ।

कतार विश्वकप यी दुवैको कीर्तिमानी पाँचौं सहभागिता हो। मेस्सीले विश्वकपमा खेलेका २५ खेलमा ११ गोल गरेका छन्। रोनाल्डोले भने २२ खेल खेल्दा आठ गोल गरेका छन्। 

पाँचवटा विश्वकपमा गोल गर्ने एक मात्र खेलाडीको कीर्तिमान रोनाल्डोको नाममा छ। उता, आइतबारको फाइनल खेलमा मैदानमा उत्रँदा मेस्सीले पनि विश्वकपमा सर्वाधिक २६ खेल खेल्ने पहिलो खेलाडीको कीर्तिमान बनाउने छन्।

विश्व फुटबलको सर्वाधिक ठूलो मानिने व्यक्तिगत उपाधि, बालोना डिओर सबैभन्दा धेरै, सातपटक जित्ने खेलाडी मेस्सी हुन्। रोनाल्डोले बालोना डिओर पाँच पटक हात पारेका छन्।

युरोपको सर्वाधिक लोकप्रिय क्लब फुटबल प्रतियोगिता, च्याम्पियन्स् लिगको उपाधि भने रोनाल्डोले पाँच र मेस्सीले चार पटक जितेका छन्। धरेलु लिग उपाधिको संख्या भने मेस्सीको ११ र रोनाल्डाको सात छ।

अन्तर्राष्ट्रिय उपाधिको हकमा मेस्सीले अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि दिलाएका छन्। रोनाल्डोले पनि पोर्चुगलका तर्फबाट युरो कप जितेका छन्।

यो विश्वकपसँगै यी दुवै खेलाडीको अन्तर्राष्ट्रिय खेलमा पूर्णविराम लाग्ने तय भइसकेको छ। मेस्सी रोनाल्डोको यो युगपछि अर्को युगको महान् खेलाडी बन्ने तयारीमा फ्रान्सका केलियन एम्बाप्पे र नर्वेका एर्लिङ हाल्यान्ड जस्ता युवा खेलाडी छन्।

तर अब आउने खेलाडीलाई मेस्सी र रोनाल्डोले करिब दुई दशकसम्म कायम गरेको सफलताको निरन्तरतालाई भेट्टाउन भने त्यति सहज हुने छैन।

पुष १, २०७९ शुक्रबार १६:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।