कर्णालीमा संसदीय दलको नेता बन्न हानथाप, तीन दलमा ६ जना आकांक्षी

कर्णालीमा संसदीय दलको नेता बन्न हानथाप, तीन दलमा ६ जना आकांक्षी

सुर्खेत : समाुनपातिक सांसदहरूको नाम टुङ्गिएसँगै कर्णाली प्रदेशमा संसदीय दलको नेता तीन ठूला पार्टी कांग्रेस, माओवादी केन्द्र र एमालेका नेताहरूले ‘लबिइङ’ गर्न थालेका छन्।

४० सदस्यीय रहेको कर्णाली प्रदेश सभामा १४ सिटसहित पहिलो दल बनेको नेपाली कांग्रेस, १३ सिटसहित दोस्रो बनेको माओवादी र १० सिटसहित तेस्रो बनेको एमालेभित्र संसदीय दलको नेता बन्नका नेताहरूको ‘लबिइङ’ सुरु भएको हो।

राप्रपा र समाजवादीमा भने एक–एक सिट भएका कारण उनीहरू स्वतः दलको नेता हुने भएका छन्।

कांग्रेसमा संस्थापनकै दुईबीच रस्साकस्सी
कांग्रेसमा संस्थापन पक्षकै दुई नेताबीच रस्साकस्सी सुरू भएको छ। कांग्रेस केन्द्रीय सदस्य राजीवविक्रम शाह र बहालवाला मुख्यमन्त्री एवं कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिका सदस्य जीवनबहादुर शाही संसदीय दलको नेताका मुख्य दाबेदार हुन्।

मुख्यमन्त्री शाहीले केन्द्रका नेताहरूकै सल्लाहमा एक खालको सहमति भएर नै मुख्यमन्त्री बन्ने उद्देश्यसहित प्रदेशमा पुनः उम्मेदवार बनेका बताएका छन्। उनले कर्णाली प्रदेशको मुख्यमन्त्रीमा आफ्नो निरन्तरता हुने बताइरहँदा संस्थापन पक्षकै नेता शाहले पनि मुख्यमन्त्री बन्ने योजनासहित दलको नेता बन्ने तयारीमा जुटेका छन्।

शाहले ठूलो नेतालाई प्रतिस्पर्धा गर्नका लागि संसदीय दलमा लड्न नखोजेको भए पनि नयाँ नेतृत्त्व र परिवर्तनको लागि आफू मैदानमा आएको बताए। एउटा भिजन बोकेर प्रदेशमा फर्किएको उनको भनाइ छ।

‘ठूलो नेताहरूसँग प्रतिस्पर्धा गर्न र अपमान गर्न खोजेको होइन, अहिलेको आवश्यकताअनुसार नयाँ नेतृत्त्व आवश्यक छ,’ शाहले भने, ‘केही निश्चित भिजन र उद्देश्य लिएर प्रदेशमा लडेको हुँ। समयको मागअनुसार संसदीय दलमा मेरो उम्मेदवारी रहने र कर्णालीको नेतृत्त्व लिने सोचमा छु।’

शाहले यसपटक अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्न चाहेका थिए। तर जाजरकोट माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेतलाई छोड्नुपर्ने भएपछि उनी प्रदेश झरेका हुन्। गठबन्धनका शीर्षस्त नेताहरूको भावी मुख्यमन्त्री बनाउने वचनले प्रदेश झरेको शाहले बताए।

तर, पार्टीको कार्यसम्पादन समिति सदस्यसमेत रहेका जीवन शाही कर्णाली प्रदेश संसदीय दलको नेतामा आफ्नो विकल्प देख्दैनन्। २०७४ मा एक सिट प्रत्यक्ष जितेर भए पनि कर्णाली सरकारको नेतृत्त्व गरेर कांग्रेसको शीर उच्च बनाएको शाहीको दावी छ।

कांग्रेसका १४ जना सांसदमध्ये बहुमतमा जीवन बहादुर शाही नै देखिन्छन्। उनलाई संसदीय दलको नेतामा १० जनाले समर्थन गर्नसक्ने र बाँकी ४ जनाले मात्रै राजीवलाई सहयोग गर्नसक्ने नेताहरूको दावी छ।

माओवादीबाट शर्मा र विष्टको नाम अगाडि
यस्तै, दोस्रो ठूलो दल बनेको माओवादी केन्द्रमा पनि दलको नेता बन्नका लागि दौडधुप जारी छ। जनार्दन शर्मा निकटका रुकुमपश्चिमका राजकुमार शर्मा र शक्ति बस्नेत निकटका सुर्खेतका विन्दमान विष्टबीच दलको बन्ने होडबाजी चलिरहेको छ।

शर्मा र विष्ट दुवै माओवादी केन्द्रका पोलिटब्यूराे सदस्य हुन्। शर्मा जिल्ला समन्वय समिति रुकुम पश्चिमको प्रमुख भइसक्दा विष्ट कर्णाली प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री भइसकेका छन्। यी दुईबीच भइरहेको तीव्र लबिइङले केन्द्रमा शक्ति र जनार्दनको लडाईंको रूपमा लिन थालिएको छ।

‘पार्टीले दिएको निर्देशन कार्यान्वयन गर्छौं,’ माओवादी केन्द्रकी अध्यक्ष विमला केसीले भनिन्, ‘अन्य दलको जस्तो मतदान नै भइहाल्ने अवस्था सिर्जना नहोला तर सहमतिको प्रयास असफल भयो भने लोकतान्त्रिक परिपार्टी त छदैँछ।’

एमालेमा दुई आकांक्षी
यस्तै तेस्रो दल बनेको एमालेमा स्थायी कमिटी सदस्य यामलाल कँडेल र प्रदेश कमिटि अध्यक्ष विनोदकुमार शाहले दलको नेता बन्न तीव्र आकांक्षा गरिरहेका छन्।

विनोद शाह एमालेका पुराना नेता हुन्। उनलाई दैलेखमा एमालेको संगठन बलियो बनाउने नेताको रूपमा लिइन्छ। यस्तै, यामलाल पनि कुशल नेतृत्त्वमा पर्छन्। गएको पाँच वर्ष एमाले संसदीय दलको नेताको अनुभव सम्हालिसकेका नेता कँडेल कर्णाली प्रदेश इन्चार्ज समेत हुन्।

एमालेभित्र बढदै गएको तीव्र धुव्रीकरणले दलको नेता बन्न चुनाव हुने संकेत देखिएको छ। यद्यपि एमाले नेताहरू भने सर्वसम्मत दलको नेता चयन गर्ने बताउँदै आएका छन्।

एमाले प्रमुख प्रतिपक्षमा बस्ने अवस्थामा प्रमुख विपक्षी दलको नेता, प्रमुख सचेतक र सार्वजनिक लेखा समितिको सभापति पाउने निश्चित छ।

अध्यक्ष शाहले भने, ‘अहिले नै दलको नेता को बन्ने भन्नेमा हाम्रो बीचमा मतभेद छैन। हामीलाई पार्टीले दिएको निर्देशनअनुसार नै दलको नेता चयन गर्छौं।’

पुष १, २०७९ शुक्रबार १६:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।