निर्माता पाण्डेलाई 'थाहै नदिई' फिल्म प्रसाद-२ सुटिङमा गयो, सुवास विरुद्ध कानुनी प्रक्रियामा जाने चेतावनी

निर्माता पाण्डेलाई 'थाहै नदिई' फिल्म प्रसाद-२ सुटिङमा गयो, सुवास विरुद्ध कानुनी प्रक्रियामा जाने चेतावनी
प्रसाद-२ को घोषणा कार्यक्रममा सुवास (खैरो कलर हाफ सर्ट) सँगै पाण्डे(निलो कोट)

काठमाडौँ : लगानीको विवादले सुटिङका लागि फ्लोरमा गएर पनि फर्किनु परेको फिल्म 'प्रसाद-२' को टिम पुरानो विवाद नसल्टाई छायाङ्कनमा गएको देखिएको छ। प्रारम्भमा सुवास थापाले फिल्ममा केशव पाण्डेलाई निर्माताको रूपमा भित्र्याएर पत्रकार सम्मेलन गर्दै फिल्म फ्लोरमा लगेका थिए।

लगानीसँगै फिल्मको निर्माण टिम र कलाकारबिचको विवादपछि फिल्म सुटिङ प्रारम्भ हुनै सकेन। टोली छायाँकनस्थलबाट रित्तै फर्कियो। विवाद चर्किँदै गएपछि अभिनेत्री नम्रता श्रेष्ठले फिल्म छाडिन्।

अहिले सुवास आफू प्रस्तुतकर्ता बनेर सुदर्शन बस्नेतलाई निर्माताको रूपमा फिल्ममा भित्र्याउँदै बिहीबारबाट छायाङ्कनमा गएको हो। विवादका कारण पहिलो पटक फ्लोरमा गएर पनि फर्किएको फिल्म निर्माण टिमले विवाद नसल्ट्याएकाले फिल्म अझै विवादमा पर्ने देखिन्छ।

निर्मातामध्येका एक पाण्डेले फिल्म फ्लोरमा गएकोबारे आफूले सामाजिक सञ्जालमा निर्माण टिमले राखेको तस्बिर देखेर थाहा पाएको भन्दै आश्चर्य व्यक्त गरे।

'सुवासजीले मलाई यसबारे केही जानकारी दिनु भएको छैन,' मेरो ६२ लाख लगानी भइसकेको छ। उहाँले गरेको कानुनी कागज पनि मसँग छ। जानकारी नै नदिई फिल्म बनाउने काम सुरु भएकाले अब के गर्ने म कानुनी परामर्श गर्दैछु' पाण्डेले उकेरासँग भने।

यसबारे बुझ्न सुवाससँग सम्पर्क गर्ने प्रयास गरे पनि सफल हुन सकेन। फिल्म विवादै बोकेर फ्लोरमा गएका यसका लेखक सुशील पौडेलले फेसबुकमा लेखेको धारणाले पनि देखाउँछ।

उनले लेखेका छन्' केहीलाई छोड्दै केहीलाई समेट्दै प्रसाद-२ दोस्रो पटक छायाङ्कनमा गएको छ। यस पटक सबै जिम्मेवार, अनुशासित र व्यावसायिक भई असल काम निस्कनेछ भन्ने विश्वास छ।'

सिक्वेल भने पनि अधिकांश कलाकार नयाँ

फिल्म 'प्रसाद'को सिक्वेलको रूपमा बन्न लागेको 'प्रसाद-२' मा प्रसादको लिड रोलमा रहेका विपिन कार्की मात्रै दोहोरिएका छन्।

'प्रसाद' मा रहेकी नम्रताको साटो केकी अधिकारी अनुबन्धित भएकी छिन्। निश्चल बस्नेतले पहिल्यै फिल्ममा अभिनय गर्न अस्वीकार गर्दा अर्पण थापा अनुबन्धित भएका थिए। अन्य कलाकारहरूमा महेश त्रिपाठी, कमलमणि नेपाल, प्रकाश घिमिरे लगायतका छन्।

प्रसाद लेखेकै सञ्चारकर्मी सुशील पौडेलले प्रसाद-२ लेखेका हुन् भने निर्देशक पनि बदल्दै सुदर्शन थापा आएका छन्। प्रसाद दिनेश राउतले निर्देशन गरेका थिए।

मंसिर २९, २०७९ बिहीबार १८:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।