प्रेम बिनाको रोमान्सले बनाउन सक्छ मनोरोगी

प्रेम बिनाको रोमान्सले बनाउन सक्छ मनोरोगी

एजेन्सी : विगत लामो समयदेखि माया-प्रेम, रोमान्सलाई मन हलुका पार्ने, एक्लोपन हटाउने, दैनिक क्रियाकलापमा स्फूर्ति बढाउने विषयका रूपमा लिने गरिएको थियो। तर हालै भएको एक अनुसन्धानले यसमा पनि प्रश्न उठाएको छ।

अध्ययन अनुसार अत्यधिक रोमान्स पनि मनोरोगको कारण बन्न सक्ने देखाएको छ। अनुसन्धानले वर्तमान समयमा चोखो माया प्रेम हराउँदै गएको छ र त्यसको ठाउँ बिस्तारै स्वार्थ केन्द्रित रोमान्सले ठाउँ लिँदै गएको देखाएको छ।

यथार्थ माया प्रेममा स्वार्थ हुँदैन। स्वार्थ भए पनि आफ्ना लागि सोचिँदैन। अर्कोलाई कसरी राम्रो हुन्छ, उसलाई कसरी सुख मिल्छ भन्ने कुरामा ध्यान दिने भावना नै चोखो माया हो। जब चोखो माया हराउँदै र स्वार्थ केन्द्रित माया बढ्दै गयो तब मायालाई केवल रोमान्समा लगेर जोडियो।

अनुसन्धाताहरू भन्छन्'रोमान्स र माया प्रेमका बिच एक मसिनो रेखा छ। केवल रोमान्सका लागि बनाइने सम्बन्धहरूले मानिसलाई बिस्तारै मनोरोगी बनाउँदै लान्छ। यसको उल्टो माया प्रेमका लागि गरिने रोमान्सले मानिस मनोरोगबाट मुक्त हुँदै जान्छ।'

उनीहरू प्रेमलाई अवेसिभ लभ र कमिटेड लभ गरी दुई प्रकारले व्याख्या गर्छन्। दार्शनिक एलेन डी बोटन लेख्छन् 'यदि कसैले विना माया निरन्तर यौन सम्बन्ध राख्छ भने त्यसलाई रोमान्टिक आतङ्क मान्नुपर्छ। रोमान्टिक आतङ्क प्रायः पुरुषसँग जोडिएको हुन्छ। उसले आफ्नो महिला साथीलाई मानसिक वेदना दिनुसँगै यौन सम्बन्ध राख्ने कार्य गर्दै गयो र त्यसले निरन्तरता पायो भने महिलामा बिस्तारै मनोरोगका लक्षण देखा पर्न थाल्छन्।'

प्रेमबाट फ्रस्टेसन अथवा असफल रोमान्सले पनि मानिसलाई मनोरोगको सिकार बनाउँछ। सन् २००५ मा मनोविद् हेलेन फिसरले गरेको अनुसन्धानबाट प्रेम विनाको रोमान्समा हुने उत्तेजनाले मस्तिष्कमा सकारात्मक सन्देश पुग्दैन र डोपामिन तथा अक्सिटोसिनको उत्पादनमा असन्तुलन हुन्छ भन्ने तथ्य उजागर भएको छ।

डोपामिन सिजोफ्रेनियासँग जोडिएको छ। सिजोफ्रेनिया एक किसिमको मनोरोग हो। असफल प्रेम र रोमान्सका बारेमा लामो समयदेखि अनुसन्धान गरिरहेकी अमेरिकी मनोविद् डा. फिसरले यस्ता अनेक कुराहरू पत्ता लगाएकी छन्।

डा.फिसर 'यो केवल मेरो श्रीमान् हो अथवा यी मेरी श्रीमती हुन् अथवा यो मेरो प्रेमी हो भन्ने आधारमा प्रेमिल भावनारहित भएर शारीरिक सम्बन्ध बनाउँदा मस्तिष्क जोखिममा पर्ने हुँदा  त्यस किसिमको यौनकार्य नगर्न' सल्लाह दिन्छिन्।

 

मंसिर २९, २०७९ बिहीबार १६:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।