पर्यटन भिसा लिएर साङ्गीतिक कार्यक्रम गर्न अमेरिका पुगेकी आस्थालाई अध्यागमनले नेपाल फर्काइदियो

पर्यटन भिसा लिएर साङ्गीतिक कार्यक्रम गर्न अमेरिका पुगेकी आस्थालाई  अध्यागमनले नेपाल फर्काइदियो

काठमाडौँ : पर्यटन भिसामा अमेरिका गएर सशुल्क साङ्गीतिक कार्यक्रममा सहभागी हुने आस्था राउतको प्रयास असफल भएको छ। पर्यटन भिसामा गएर अन्य आर्थिक गतिविधिमा संलग्न हुन नपाउने देखाउँदै राउतलाई ड्यालसको अध्यागमनले नेपाल फर्काइदिएको छ।

५ दिन अगाडि आस्था अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर लानकास्टरमा नेपाली समुदायले आयोजना गरेको कार्यक्रममा सहभागी हुन उता गएकी थिइन्। तर अध्यागमनले उनलाई अमेरिका प्रवेश गर्न नदिई नेपाल फर्काइदिएको छ।

उनी आफैँले सन् २०१७, २०१८ र २०१९ मा पर्यटन भिसामा अमेरिका गएर साङ्गीतिक कार्यक्रममा सहभागी भएको बताए पनि अध्यागमनले साङ्गीतिक कार्यक्रममा सहभागी हुने भए पी ३ भिसामा आउनु भन्दै फर्काइदिएको हो।

आस्थाले फेसबुकमा अङ्ग्रेजी नयाँ वर्षको उपलक्ष्यमा अमेरिकाको लानकास्टरमा युनाइटेड होम केयर सर्भिसले आयोजना गर्ने कार्यक्रममा  कलाकारको हैसियतले निमन्त्रणा पाएर त्यता जानेक्रममा प्राविधिक समस्याको कारणले समारोहमा उपस्थित हुन नसकेको' मात्र उल्लेख गरेकी छिन्।

आस्था मात्रै हैन अधिकांश कलाकारहरू भिजिट भिसामा विभिन्न देश गएर त्यहाँ नेपाली समुदायले आयोजना गर्ने कार्यक्रममा सहभागी हुने गरेका छन्। कानुनतः यस्ता गतिविधि अवैध हो। यस अगाडि पनि केही कलाकारहरू यसरी नै अध्यागमनबाटै फर्किनुपरेको थियो।

कार्यक्रममा राउतसँगै जगदीश समाल, नलिना चित्रकार, कृष्ण ढकाल, प्रवीण वर्देवासँगै डान्सर रेनुका राई, मुना क्षेत्री र डम्बर भट्टराई सहभागी हुने आयोजकले जानकारी दिएको छ।

मंसिर २९, २०७९ बिहीबार १५:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।