२५ करोडको एमआरआई मेसिन ३० करोडमा किन्ने खेलमा रहेका ट्रमा सेन्टरका प्रमुख डा. मरासिनी भन्छन् 'यसमा धेरै चासो नराख्नुस्'
काठमाडौँ : राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख डा. रुद्रप्रसाद मरासिनीले निश्चित कम्पनीलाई मात्र मिल्ने गरी प्राविधिक स्पेशिफिकेशन तयार गरेर करिब ३० करोडको एमआरआई मेशिन खरिद गर्ने गरी टेन्डर प्रक्रिया अगाडि बढाएको खुलेको छ।
उकेराले प्राप्त गरेको प्रमाणहरूले मरासिनीले नेपालमा एआरआइ मेसिनको स्थानीय एजेन्टहरूमध्ये युनाइटेड इमेजिङ कम्पनीको एमआरआई मेसिनसँगमात्र मिल्ने गरी प्राविधिक स्पेशिफिकेशन तयार गरेर खरिद प्रक्रिया अगाडि बढाएको खुलेको हो।
प्राविधिक स्पेशिफिकेशन भनेको कुन मिसिन, कस्तो किसिमको, कुन-कुन सुविधा तथा विशेषता रहेको भन्ने जस्ता प्राविधिक पक्षको विवरण हो। यही आधारमा खरिद गरिने कुन मेसिन योग्य र कुन मेसिन अयोग्य भन्ने निश्चित हुन्छ।
मरासिनीले ट्रमा सेन्टरका लागि एमआरआई मेसिन किन्न स्वास्थ्य सेवा विभागबाट प्राविधिक स्पेशिफिकेशन मगाएर त्यही कार्यान्वयनमा ल्याएका हुन्। जबकि कुनै मेसिन किन्नुपरे त्यसको प्राविधिक पक्षबारे उल्लेख गरेर प्राविधिक स्पेशिफिकेशन बनाउन ट्रमामै बायोमेडिकल इन्जिनियर छन्।
डा. मरासिनीले नै ट्रमाले एमआरआई खरिद गर्न बनाएको प्राविधिक स्पेशिफिकेशन स्वास्थ्य सेवा विभागबाट ल्याएर टेन्डर गरेको उकेरासँग स्वीकार गरिसकेका छन्। उनले किन त्यस्तो गर्नुपरेको हो भन्ने खुलाएनन्।
उनी यस अगाडिका २ प्रमुख डा प्रमोद जोशी र डा प्रमोद यादव ट्रमाको प्रमुख बन्नु अगाडि नै प्रमुखको प्रतिस्पर्धामा थिए। उनी युनिफाइड केन्द्रीय अस्पतालको प्रमुखमा नियुक्त भएर नियुक्ति पत्र पाइसक्दा समेत हाजिर हुन नपाएर उनको नियुक्ति नै खारेज भएको थियो।
मरासिनी यस अगाडि स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाको प्रमुख थिए। मरासिनी त्यहाँको प्रमुख हुँदा डेढ अर्ब बढीको स्वास्थ्य उपकरण खरिद गर्दा अनियमितता गरेको स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीले आरोप लगाउँदै स्पष्टीकरण नै सोधेका थिए।
उनले विभागमा रहेर गरेका निर्णय विवादित देखिएपछि ट्रमा सेन्टरमा सरुवा भएका हुन्। ट्रमा सेन्टरमा एमआरआई मेसिनको अभाव छ। त्यही अभावमा खेल्दै मरासिनीले आफू अनुकूल निर्णय गरेर निश्चित कम्पनीलाई मात्र फाइदा हुने गरी प्राविधिक स्पेशीफिकेशन बनाएका हुन्।
निर्वाचनको मुखमा निकाले टेन्डर
राष्ट्रिय ट्रमा सेन्टरले करिब ३० करोड मूल्य बराबरको ‘थ्री टेस्ला एमआरआई मेसिन’खरिदका लागि कात्तिक २८ गते (१४ नोभेम्बर, २०२२) मा टेन्डर आह्वान गरेको थियो।
यो बेलामा सबैको ध्यान निर्वाचनमा थियो। उनले यही मौका छोपेर ट्रमामा एमआरआई मेसिन किन्ने प्रक्रिया अगाडि बढाए। तर उनको बदमासी लुकेन। उकेराले पहिलो पटक निर्वाचनको बेला पारेर टेन्डर खुलाएको समाचार सार्वजनिक गरेको थियो।
उनले निर्वाचनको मौका मात्र छोपेनन् निश्चित कम्पनीको एमआरआई मेसिन मात्र किन्न मिल्ने गरी प्राविधिक स्पेशिफिकेशन बनाएर ट्रमामा एमआरआई किन्ने प्रक्रिया अगाडि बढाए।
तर ट्रमा सेन्टरका प्रमुख डा. मरासिनी भने सेटिङमा स्पेशिफिकेशन नबनाएको तर्क गर्छन्। उनले एमआरआई खरिद प्रक्रिया नियमसँगत नै रहेको दाबी गर्दै उकेराकर्मीलाई यसबारे चासै नराख्न आग्रह गरेका थिए।
‘यो विषयमा मेरो भन्नु केही छैन,’डा. मरासिनीले उकेरासँग भने,‘सबै ऐन नियम अनुसार नै भएको छ। यसमा तपाईँले धेरै चासो नराख्नुहोस्।’
उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अदालत बाहेक अन्य कारणले खरिद प्रक्रिया नै नरोकिने दाबी समेत गरे।
‘अख्तियारले रोक्य�